सरकारलाई प्रभावकारी बनाउन २ दलीय संयन्त्र, सरकारमा सहभागी अन्य दललाई उपेक्षा

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई प्रभावकारी बनाउन बेग्लै संयन्त्र बनाएका छन् । ७ बुँदे सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगले चलाउन २ दलका शीर्ष नेताहरू सम्मिलिन संयन्त्र बनाइएको हो । सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएका हुन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले प्रभावकारी रूपमा सरकार सञ्चालन गर्न र सफल बनाउनका लागि संयन्त्र बनाएका हुन् । ओली नेतृत्वको वर्तमान सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेकामा आलोचना बढ्दै गएपछि संयन्त्र बनाइएको आकलन गरिएको छ ।

कात्तिक १५ गते बसेको २ दलको बैठकमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच राजनीतिक संयन्त्र निर्माण गर्ने सहमति भएको थियो । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य छन् ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै संयन्त्र बनाउँदै गर्दा सरकारमै सहभागी र समर्थन गर्ने अन्य दललाई भने उपेक्षा गरिएको छ । सरकारमा सहभागी कांग्रेस–एमालेबाहेकका कुनै दल पनि संयन्त्रमा अटेका छैनन् । त्यसो त सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्दा पनि संसद्मा प्रतिनिधित्व गर्ने अन्य साना दललाई उपेक्षा गर्दै ठुला ४ दलका सांसद मात्रै समावेश गरिएको थियो ।

बैठक संयोजन र चीन भ्रमणबारे २ निर्णय

मंगलबार २ दलीय संयन्त्रको पहिलो बैठकसमेत बसेको छ । संयन्त्रको पहिलो बैठकले २ वटा निर्णय पनि गरिसकेको छ । बुधबार मात्र सार्वजनिक भएको उक्त निर्णयमा संयन्त्रको बैठक र प्रधानमन्त्रीको चीन भ्रमणका विषय समेटिएको छ । संयन्त्रको निर्णयअनुसार एमाले र कांग्रेसले १/१ महिना पालैपालो संयोजन गर्ने उल्लेख छ भने पहिलो महिनामा कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्नेछन् ।

त्यस्तै, दोस्रो बुँदा प्रधानमन्त्री ओलीको चीन भ्रमणसँग सम्बन्धित छ । प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा आगामी डिसेम्बरमा चीन भ्रमणमा जाँदै छन् । चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री ओली र देउवाको निर्देशनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले गर्ने निर्णय भएको छ ।

संयन्त्रले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने पनि उक्त बुँदामा उल्लेख छ । केन्द्रमा मात्रै नभई प्रदेश र जिल्ला तहमा पनि संयन्त्र गठन गर्ने तयारी भइरहेको छ । प्रदेश र जिल्लामा भने ६ सदस्यीय संयन्त्र बनाइनेछ ।

प्रतिक्रिया