काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउने गरी संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र बनाएका छन् । सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएका हुन् ।
संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक र आरजु राणा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य रहेका छन् ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन र सत्ता साझेदारबीच आवश्यक समन्वय गर्ने गरी संयन्त्र बनाइएको जानकारी दिए । केही समयअघि बनेको संयन्त्रलाई औपचारिकता दिएर अगाडि बढेको उनको भनाई छ ।
उनका अनुसार प्रदेश र जिल्ला तहमा पनि समन्वय संयन्त्र बनाउने निर्णय भएको छ । उक्त निर्णय अनुसार एमालेबाट संयन्त्रमा रहने नेताहरु समेत टुंगिएको छ ।
प्रदेश तहको संयन्त्रमा पार्टी इन्चार्ज, अध्यक्ष र संसदीय दलको नेता सदस्य हुनेछन् । जिल्ला संयन्त्रमा इन्चार्ज, अध्यक्ष र सचिवलाई पठाउने मोडालिटी तयार भएको गौतमले जानकारी दिए ।
प्रतिक्रिया