डेथ ओभरमा सम्हालिन नसक्दा खेल गुमाएको नेपाल

ओटावा । त्रिकोणात्मक टि–२० शृंखलाअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलकोे १९औँ ओभरमा २ छक्का र १ चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित हात पारेको हो । क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सानदार सुरुआत गरेको पावर प्लेमा बिनाकुनै विकेटको क्षति ५६ रन जोडेको नेपाल त्यसपछि खस्केको थियो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे ।

साहले दोस्रो ओभरमा डिलोन हाजियरलाई ३ छक्का प्रहार गरेका थिए । पावरप्लेपछि नेपालको रनको गति सुस्त भएको थियो । १०औँ ओभरको पहिलो बलमा हर्ष ठाकरले अनिल साहको विकेट लिएपछि नेपालको ओरालो यात्रा सुरु भएको हो । त्यस ओभरमा ४ रन खर्चिएका ठाकर नै क्यानडाको जितका नायक भए । ११औँ ओभरमा नेपालले दोस्रो विकेटका रूपमा आशिफलाई गुमाएको हो । उनलाई साद विन जाफरले आउट गरे ।
नेपालको विकेट झर्ने क्रम १२औँ ओभरमा पनि जारी रह्यो । कप्तान रोहित पौडेल व्यक्तिगत ४ रनमा हर्ष ठाकरको सिकार भए । नेपालले ३ ओभरमा १० रन जोडेर ३ विकेट गुमाएको हो । १४औँ ओभरमा नेपालले ४ रन बनाएका कुशल मल्ललाई चौथो विकेटको रूपमा गुमाएको हो । उनलाई प्रवीन कुमारले आउट गरे ।

नेपालले १५औँ ओभरमा ४ रन र १६औँ ओभरमा ६ रन मात्रै बटुल्न सक्यो । १७औँ ओभरको दोस्रो बलमा गुलसन झाले छक्का प्रहार गरेपछि नेपालले ९ रन जोडेको थियो । १८औँ ओभरको तेस्रो बलमा नेपालले कुशल भुर्तेलका रूपमा पाँचौँ विकेट गुमाएको सोही ओभरको अन्तिम बलमा गुलसनले अर्कोे छक्का प्रहार गरे । नेपालले १९औँ ओभरमा एक चौकासहित १२ रन जोड्यो । अन्तिम ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरी व्यक्तिगत १३ रनमा आउट भए । त्यसपछि सोही ओभरको पाँचौँ बलमा करण केसीको छक्काको सहयोगमा नेपालले उक्त ओभरमा ११ रन जाडेको थियो । नेपालले कुल १३९ रन जोडेको थियो ।

१४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रहेको थियो । पहिलो ६ ओभरमा क्यानडाले १ विकेटको क्षतिमा ३४ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि पहिलो २ विकेट ललित राजवंशीले लिएका थिए । उनले छैटौँ ओभरको पहिलो बलमा नवनीत धालिवाललाई आउट गरे । धालिवालले १६ बल खेल्दै २ चौकाको सहयोगमा १२ रन बनाए । क्यानडाले दोस्रो विकेट आठौँ ओभरको पाँचाँै बलमा हर्ष ठाकरलाई व्यक्तिगत ११ रनमा गुमाएको थियो ।

नेपालले १२औँ ओभरमा थप २ सफलता पाए पछि झिनो स्कोर पनि जोगाउने लक्षण देखाएको थियो । सो ओभरको तेस्रो बलमा सोमपाल कामीले निकोलस किर्टनलाई व्यक्तिगत २६ रनमा आउट गरे । उनले १४ बलमा २ छक्का र १ चौका प्रहार गरेका थिए । सोही ओभरमा चौथो बलमा ओपनर दिलप्रित बाज्वा २५ रन बनाउँदै रन आउट भए ।

त्यसपछि सुस्ताएको क्यानडाले १३औँ ओभरमा १ चौकासहित ६ रन जोड्यो भने १४औँ ओभरमा जम्मा ३ रन मात्रै थपेको थियो । नेपालका लागि सन्दीप लामिछानेले १५औँ ओभरमा थप २ सफलता दिलाए । उनले सो ओभरको पहिलो बलमा श्रेयस मोभालाई व्यक्तिगत ८ रन र सोही ओभरमा तेस्रो बलमा दिलोन हेलिङगरलाई खाता खोल्न नदिइ पवेलियन फर्काए ।

क्यानडालाई अन्तिम ५ ओभरमा १० रनको औसतले ५० रन बनाउनुपर्ने थियो । १६औँ ओभरमा क्यानडाले १ चौकासहित ८ रन र १७औँ ओभरमा १ चौकासहित ९ रन जोडेको थियो । त्यसैगरी १८औँ ओभरमा सोमपाल कामीले १ चौका र नो बलसहित १२ रन खर्चिए । १९औँ ओभरमा करण केसीले महत्वपूर्ण समयमा घातक बलिङ गर्दै १८ रन दिए । केसीको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै साद विन जफरले खेललाई आफ्नो नियन्त्रणमा लिए । तेस्रो बलमा जफरले एक रन लिँदै स्ट्राइक रवीन्द्रपल सिंहलाई दिएका थिए । सिंहले सोही ओभरको चौथो बलमा छक्का प्रहार गर्दै क्यानडालाई जित नजिक पुर्याए ।

क्यानडालाई अन्तिम ओभरमा ३ रन मात्र आवश्यक थियो । अन्तिम ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले १ रन खर्चिए । त्यसपछि क्यानडाले वाइडमार्फत अतिरिक्त १ रन प्राप्त गर्दा स्कोर बराबरीमा पुगेको हो । सो ओभरको तेस्रो बलमा जफरले विजयी रन प्रहार गरे ।
क्यानडासामु मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडा विजयी भएको हो । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले २–२ र सोमपाल कामीले १ विकेट लिए ।

प्रतिक्रिया