जनकपुरधाम । मधेस प्रदेशमा बाढीका कारण मृत्यु हुनेको संख्या सोमबार साँझसम्म ६ पुगेको छ । मृत्यु हुनेमा १ बालिकासमेत रहेकी छन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका २–२ तथा सप्तरी र सर्लाहीका १–१ जना रहेका छन् ।
बाढीले बगाउँदा २ जना बेपत्ता छन् भने ८ जना घाइते भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । बेपत्ता हुनेमा सर्लाही र पर्साका १–१ जना रहेका छन् । मधेसका ८ जिल्लामा बाढीबाट ५६ लाख रुपैयाँको क्षति भएको छ ।
बाढीबाट ९ पशुचौपायासमेत मरेका छन् । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय रोहित साह र बर्दीवास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिङ, सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई हाल राजविराज नगरपालिका–८ मा बस्दै आएका ८ वर्षीय प्रिन्सकुमार साह, रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्षीय राजकुमार मुखिया र पर्रोहा नगरपालिका–७ की १४ वर्षीया आशाकुमारी साह तथा सर्लाहीको बलरा नगरपालिका–३ लक्ष्मीपुरका १२ वर्षीय अंकित ठाकुर रहेका छन् ।
यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ का १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाउँदा बेपत्ता भएका छन् । पर्सामा १ बालिका बेपत्ता छिन् । ८ जिल्लामध्ये रौतहटमा ३, सिरहामा १, सर्लाहीमा १ तथा बारामा ३ जना घाइते भएका प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए ।
बाढीबाट ९६ परिवारका ४८८ जना विस्थापित भएका छन् । बाढीमा फसेका ३५ जनालाई उद्दार गरिएको छ । सोमबारदेखि प्रदेशको जनजीवन सामान्य हुँदै गएको छ ।
प्रतिक्रिया