धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा २ जना प्रशासकीय अधिकृतका कारण अन्योलको अवस्था सिर्जना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटै पालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा २ जनालाई जिम्मेवारी दिँदा अन्योलको अवस्था सिर्जना भएको हो ।
२ प्रमुख प्रशासकीय अधिकृत हुँदा चालु आर्थिक वर्ष २०८१÷०८२ को गाउँसभासमेत हुन सकेको छैन भने काममा समेत दोहोरोपना सिर्जना भएको छ । यही असोज ८ गते मंगलबार जितिया पर्वको अवसरमा सामुदायिक विद्यालय तथा पालिकाको अन्य निकायमा महिलालाई बिदा रहेको सूचना सार्वजनिक भयो । असोज ७ गते प्रकाशित सो सूचनामा प्रमुख प्रशासकीय अधिकृत सर्वजीतकुमार झाले हस्ताक्षर गरेका थिए ।
त्यसको भोलिपल्ट बिदाको दिन बिहानै अर्का प्रमुख प्रशासकीय अधिकृत यमबहादुर उपरकोटीले हस्ताक्षर गरेको सूचनामा जितिया पर्वको बिदा नरहेको सार्वजनिक भयो । २ वटा सूचनाले स्थानीय अन्योलमा परे । अहिले २ प्रशासकीय अधिकृतबीच करिब १ महिनादेखि कार्यालयमा जुहारी चलिरहेको छ । बिदा, कर्मचारीहरूको कार्य विभाजन लगायतको निर्णय एउटाले गर्ने र अर्काले उल्टाउने काम भइरहेको छ ।
उपरकोटी ३० वैशाखमा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिरी भएका थिए भने समान्य प्रशासन मन्त्रालयको सरुवाको पत्रसहित १३ भदौमा वडाध्यक्षहरूको रोहबरमा उनी हाजिर भएका थिए । सामान्य प्रशासन मन्त्रालयको बदमासीले कार्यालयमा प्रशासकीय अधिकृतको विवाद सृजना भएको पालिका अध्यक्ष भोगेन्द्र झाले गुनासो गरे । यसले गर्दा पालिकामा काम गर्न असहज भइरहेको उनले बताए । ‘उपकरकोटी ४ महिनाअघि मात्रै प्रशासकीय अधिकृतमा आउनुभयो । उहाँ कामकाज राम्ररी नै गरिरहेकै अवस्थामा मसँग कुनै जानकारी नगराई मन्त्रालयले सर्वजीत झालाई सरुवा गरेर यहाँ पठायो । त्यसैले मैले पालिकामा हाजिर गराइनँ’, अध्यक्ष झाले भने ।
प्रशासकीय अधिकृत सर्वजीत झा भने पालिकाका वडाध्यक्षहरूको रोहबरमा आफैँले अर्को हाजिर रजिस्टर खडा गरेर हाजिर भएको बताउँछन् । ‘पालिका अध्यक्ष ज्यू आउनु भएन । उपाध्यक्षजी बाहिर जानुभएको थियो । एकबाहेक सबै वडाध्यक्षको रोहबरमा हाजिर भएँ’, उनले भने, ‘सम्बन्धित कर्मचारी सुनिता यादवले दर्ता चलानी र रजिस्टर दिनुभएन । मैले आफैँ नयाँ राजिस्टर खडा गरेर हाजिर भएँ ।’
असन्तुष्ट पालिका अध्यक्ष झाले सोही दिन सर्वजीतलाई फिर्ता पठाएको पत्र सामान्य प्रशासन मन्त्रालयमा पठाए । जसमा समन्वय नगरी र कानुन विपरीत पठाइएका प्रशासकीय अधिकृत झालाई फिर्ता पठाएको उल्लेख छ । ‘प्रमुख प्रशासकीय अधिकृत यामबहादुर उपरकोटीलाई निरन्तरता दिइएको ब्यहोरा अवगत गराउन चाहन्छु । तसर्थ प्रशासकीय संघीय व्यवस्थालाई मध्यनजर गर्दै त्यहाँ मन्त्रालयबाट खटिइनुभएका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झालाई नियमानुसार फिर्ता पठाइएको ब्यहोरा जानकारी गराउँदछु’, पालिका अध्यक्षले मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।
यता आफ्नो सरुवाको विषयमा आधिकारिक पत्र अहिलेसम्म आफूलाई प्राप्त नभएको उपरकोटी बताउँछन् । सर्वजीत प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएपछि उपरकोटी न्याय माग्दै सर्वोच्च अदालतसम्म पुगे । उनले १७ असोजमा पालिका कार्यालय, सामान्य प्रशासन मन्त्रालय र झाविरुद्ध रिट दायर गरेका छन् ।
प्रतिक्रिया