दलितमाथि नाकावन्दी लगाएको भन्दै कार्यवाहीको माग

राजविराज । सिरहाको नरहागाउँपालिका–१, गौरराहामा बसोबास गर्ने दलित मुसहर समुदायका ४५ परिवारमाथि भएको नाकाबन्दी र संविधानले प्रदत्त अधिकारहरूको हननको विरुद्धमा सप्तरीका दलित नागरिक समाजले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् । दलित सरोकार मञ्च नेपाल, सप्तरी र विभिन्न दलित नागरिक समाजका संस्थाहरूले एकजुट हुँदै नाकाबन्दी लगाउनेलाई कार्यवाही गर्न ज्ञापन पत्र बुझाएका हुन् ।

‘सिराहा जिल्लाको गौरराहा गाउँमा महेश यादव नामक व्यक्तिले आफ्नो खेतको धानगोडमेल नगरेको निहुँमा मुसहर समुदायले वर्षौँदेखि प्रयोग गर्दै आएको मुख्य आवागमन मार्ग काडाले छेकेर बन्द गरेका थिए । यस घटनाले मुसहर समुदायको जीवनमा समस्या पारेको उनीहरुको भनाइ छ । यादवले उक्त बाटो आफ्नो निजी सम्पत्ति भएको र त्यहाँबाट मुसहर समुदायले आवतजावत गर्न नपाउने धम्की दिएका छन् । यसका साथै, उनले सम्पूर्ण बस्तीलाई नै विस्थापित गर्ने धम्की दिइरहेका छन्,’ ज्ञापनपत्रमा उल्लेख ।

ज्ञापनपत्रमा दलित समुदायले संविधानमा प्रदत्त मौलिक अधिकारहरूको ठाडो उल्लंघन भएको र यसले उनीहरूको मानवीय गरिमा र आत्मसम्मान माथि गम्भीर प्रहार गरेको बताएका छन् । संविधानको धारा १७(२) अनुसार कुनै पनि नागरिकलाई नेपालभित्र स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने अधिकारको उल्लंघन हुनु, र संविधानको धारा २४(५) अनुसार दलित समुदायमाथि गरिएको भेदभाव र शोषण दण्डनीय अपराधको रूपमा परिभाषित भएकोले, महेश यादवविरुद्ध तुरुन्त कानूनी कारबाही गर्न माग गरिएको छ ।

‘प्रहरी र स्थानीय निकायले यो घटनामा प्रभावकारी रूपमा कारबाही नगरेको, पीडितको उजुरी दर्ता नगरी बेवास्ता गरिएको, र यसले न्याय सम्पादन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ’ गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा मुसहर समुदायको आवागमनको मार्ग तत्काल खुलाउन आवश्यक कदम चाल्न,महेश यादवविरुद्ध कानूनी कारबाही गर्न, उजुरीलाई बेवास्ता गर्ने प्रहरी अधिकारीको भूमिकामा छानबिन गर्न, दलित समुदायको आवतजावत सुनिश्चित गर्न वैकल्पिक मार्गको दीर्घकालीन व्यवस्था गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउने संघहरूले यो घटना अन्य दलित समुदायहरूमाथि भइरहेको अन्याय र विभेदको गम्भीर उदाहरण भएको बताएका छन् र सरकारसँग तुरुन्त न्यायिक कारबाहीको माग गरेका छन् ।

दलित सरोकार मञ्चका जिल्ला कार्यक्रम संयोजक राजकुमार पासवानको नेतृत्वमा रामनाथ राम, पीडित उत्थान क्लब, विष्णुपुर गाउँपालिका वडा नं. ७, पारस कुमार रजक, चौतर्फी विकास केन्द्र, छिन्नमस्ता गाउँपालिका–७ र मनोज राउत, नेपाल राउत मेहतर उत्थान समाज, राजविराज, वडा नं. ७, सप्तरी रहेका छन् ।

सप्तरीका दलित संघहरूले यो ज्ञापनपत्रमार्फत सरकारलाई मुसहर समुदायको अधिकार हननको गम्भीरता बुझाउन प्रयास गरेका छन् र न्यायिक हस्तक्षेपको अपिल गरेका छन् ।

प्रतिक्रिया