बाढीपहिरोले काभ्रेमा एक परिवारका आठसहित १० जनाको मृत्यु, १९ जना बेपत्ता

काभ्रे । अविरल वर्षासँगै काभ्रेमा शनिबार दिउँसोसम्म १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको जानकारी अनुसार विभिन्न स्थानमा बाढी र पहिरोमा परेर १० जनाको मृत्यु भएको हो ।

त्यसैगरी १९ जना अझै बेपत्ता छन् भने १६ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते १६ जनालाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काभ्रे जिल्लाको तेमाल गाउँपालिका– २ ढडेनपाखामा सानु तामाङको परिवारका आठ जनाको मृत्यु भएको छ ।

घरमा बसिरहेको समयमा आएको पहिरोले घर बगाउँदा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ । यद्यपि उनीहरूको शव भने अहिलेसम्म भेट्न सकिएको छैन । एक जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । सानु तामाङका छोरा र बुहारी रोजगारीको लागि कुवेतमा छन् ।

बिपि राजमार्ग र अरनिको राजमार्ग पूर्णरुपमा बन्द गरिएको छ । जसका कारण हजारौँ यात्रु अलपत्र परेका छन् । बिपि राजमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ । रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईवाले नेपाली सेनाको हेलिकप्टरमार्फत अलपत्र यात्रुहरूलाई चाउचाउलगायत खाद्यान्न उपलब्ध गराइएको जानकारी दिए ।

मौसम प्रतिकूल भएपछि शनिबार बेलुका उद्धार कार्य सुरु भएको छ । बाढीका कारण बनेपा, धुलिखेल र पनौतीका विभिन्न क्षेत्रहरुमा समस्या आएको छ, जहाँ बाढीले क्षति पुर्याएको छ ।

प्रतिक्रिया