इन्धनको मूल्य र बस भाडा

सम्पादकीय

यस वर्षको बडादसैँका अवसरमा सरकारले जनताका लागि दिनसक्ने सबैभन्दा ठूलो सहुलियत हुन सक्थ्यो, बस भाडामा कटौती । तर सरकारले यो अवसर चुकाएको छ । पेट्रोलियम पदार्थको मूल्य २ वर्ष अघिको बडादसैँको तुलनामा यस वर्षको बडादसैँमा करिब २५ प्रतिशत घटेको छ । तर बस भाडा भने झन् महँगो छ । सरकार र यातायात व्यवसायी बीचको सहमतिका आधारमा बस भाडा निर्धारणको विधि तय गरिएको एक दशकअघि नै हो । इन्धन तथा गाडीका लागि प्रयोग हुने सामग्रीको मूल्यका आधारमा बस भाडा समायोजन गर्ने विधि बनाइसकिएको छ ।

त्यो विधिअनुसार पनि इन्धनको मूल्य २५ प्रतिशत घट्दा बस भाडा कम्तिमा पाँच प्रतिशत घट्नुपर्ने सोझो हिसाब देखिन्छ । तर बडादसैँमा सडक यातायात सेवा व्यवस्थित गर्ने सन्दर्भमा एक साताअघि यातायात व्यवसायीसँगको छलफलमा सरकारका प्रतिनिधिहरूले बस भाडा समायोजनको विषयमा लत्तो छाडे । आगामी छठ पर्वपछि मात्रै बस भाडा समायोजन गर्ने निर्णयका साथ बैठक टुंगिएको समाचार आएको छ । देशमा वर्षभरि सडक यातायातमा जति यात्रु हुन्छन्, त्यसको ५० प्रतिशत यात्रु दसैँदेखि छठपर्वको अवधिसम्म यात्रा गर्छन् । त्यसैले बस भाडा समायोजनको काम छठपछि सार्ने सहमतिको पृष्ठभूमिमा निकै ठूलो आर्थिक चलखेल रहेको अनुमान गरिएको छ ।

२ वर्षअघि इन्धनको मूल्य १० प्रतिशत बढ्नासाथ दसैँकै मुखमा व्यवसायीहरूको दबाबमा सरकारले गाडी भाडामा १५ प्रतिशत वृद्धि गरेको थियो । तर, यसपटकको दसैँको मुखमा इन्धनको मूल्य २५ प्रतिशत घट्दासमेत सरकारी निकायमा रहनेहरू मौन देखिनु सानो कुरा होइन । यातायातको भाडामा हुने घटबढले धेरै उपभोग्य बस्तुको मूल्यमा समेत घटबढ गराउँछ । यातायातको भाडामा मुख्य भूमिका इन्धनको हुन्छ । नेपालमा पेट्रोलियम पदार्थको कुल खपत वार्षिक ३ खर्ब रुपैयाँ बराबरको छ । त्यसमध्ये ५० प्रतिशत खपत यातायातका साधनहरूले गर्छन् । यस हिसाबले पनि पेट्रोलियम पदार्थको मूल्य २५ प्रतिशत घट्नु भनेको यातायात व्यावसायीहरूका लागि करिब ५० अर्ब रुपैयाँ फाइदा हो । तर यो फाइदा सार्वजनिक यातायातका साधनहरूको गुणस्तर सुधारका लागि खर्च भएको देखिन्न ।

वर्षौंदेखिका थोत्रा बसहरू कालो धुँवाको मुस्लो फाल्दै चलिरहेका छन् । कुन ठाउँमा पुगेर बिग्रने हो, या कहाँ पुगेर दुर्घटनामा पर्ने हो ? भन्ने त्रासमा यात्रुहरू रहनुपरेको छ । बसभित्र छिर्नासाथ दुर्गन्ध आउने, सिटमा बस्नासाथ उपियाँ र उडुसले टोक्ने सास्ती यात्रुहरूले बर्षौंदेखि भोग्दै आएका छन् । सार्वजनिक यातायातको भाडा नेपालमा विश्वभरीमै सबैभन्दा महँगो मानिन्छ, तर सेवा भने विश्वभरीमै सबैभन्दा कमजोर रहेको अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरूले उल्लेख गरिसकेका छन् ।

रुस र युक्रेनबीचको युद्ध लम्बिएसँगै कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य लगातार घट्दो छ । रुसले युद्धका लागि आर्थिक स्रोतको जोहो गर्न सस्तो मूल्यमा पेट्रोलियम निर्यात गर्ने नीति लिएको छ । त्यही कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटिरहेको छ । मूल्य सस्तिए यता छिमेकी देश भारत तथा चीनमा पेट्रोलियमको खपत ३० प्रतिशत बढेको मोटामोटी अनुमान छ । उनीहरूले इन्धन सस्तिएको अवसर पारेर औद्योगिक उत्पादन बढाएका छन्, जनतालाई राहत दिएका छन्, उत्साहजनक आर्थिक उन्नति गरिरहेका छन् ।

तर हाम्रो देश उल्टो दिशामा छ । मूल्य घट्न थालेको २ वर्षको यो अवधिमा नेपालमा पेट्रोलियम पदार्थको आयात १४ प्रतिशतले घटेको तथ्यांक छ । औद्योगिक उत्पादन पनि १४ प्रतिशत नै घटेको तथ्यांक छ । मूल्य घट्दा माग बढ्ने अर्थशास्त्रको नियम हाम्रो देशमा लागू हुन सकेको छैन । इन्धनको मूल्य घट्दा औद्योगिक उत्पादन बढ्ने ब्यापारको नियम पनि हाम्रो देशमा लागू हुन सकेको छैन । बरु उल्टो भइरहेको छ । सरकारमा रहनेहरूको अयोग्यता छताछुल्ल भएको छ ।

प्रतिक्रिया