काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले पनौती नगरपालिका– ९ सुन्थान नौबिसे फाँटमा वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
यही असोज ३ गते राति करिब ११ः३० बजे १५–१६ जनाको समूहले ७८ वर्षीय कान्छामान गोलेको घरमा नकाबधारी ढंगले प्रवेश गरी लुटपाट गरेका थिए । उनीहरुले घरधनी कान्छामान तामाङ र उनकी श्रीमतीलाई हात बाँधेर मुखमा टेप लगाई चिच्याउन नसक्ने अवस्थामा राखी गरगहना र नगद लुटेका थिए ।
उक्त घटना भएको जानकारी असोज ४ गते बिहान इलाका प्रहरी कार्यालय बनेपामा प्राप्त भएको थियो । प्रहरीले आफ्नो सक्रियता सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पनौतीको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।
यस घटनामा संलग्न मानिसहरुको हुलियाको आधारमा तीन जना व्यक्तिहरु पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई डाँका र चोरी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा पक्राउ परेका व्यक्तिहरु पनौती नगरपालिका– ४ बस्ने स्थायी घर खानीखोला– ६ बस्ने ३६ वर्षीया सरिता तामाङ, खानिखोला गाउँपालिका– २ का ४१ वर्षका विचारमान गोले, साङ्गे थोकर, ४० वर्षका शंखुपाटी, धुलिखेल नगरपालिका– १२ का रहेका छन् ।
उनीहरुबाट नगद रु १ लाख ४३ हजार पुरानो आधा माना पैसा भएको थैलो, १ तोला सुनको औँठी, आधा तोला सुनको ढुंग्री, आधा तोला सुनको तिलहरी गरी २ तोला सुनका गरगहना लुटेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया