चितवन । जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेंगुको संक्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार १५५ जना चितवनका हुन् भने ३३७ जना बाहिरी जिल्लाका हुन् ।
साउनयता जिल्लामा डेंगुको संक्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले बताए । उनका अनुसार हालसम्म पाँच हजार ११३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेंगुको संक्रमण देखिएको हो ।
सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४६२ जनामा डेंगुको संक्रमण देखिएकामा दुई जनाको मृत्यु भएको प्रमुख रुपाखेतीले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिकामा ३७६, रत्ननगर नगरपालिकामा १८४, खैरहनी नगरपालिकामा ६५, राप्ती नगरपालिकामा २९, कालिका नगरपालिकामा ३१ र माडी नगरपालिकामा आठ जनामा डेंगु संक्रमण देखिएको छ ।
प्रमुख रुपाखेतीका अनुसार गत आवमा २३ हजार आठ सय ४० जनाको परीक्षण गर्दा एक हजार ८३१ जनामा डेंगुको संक्रमण देखिएको थियो । वर्षा हुने र घाम लाग्ने समय लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले भदौ, असोजमा डेंगु संक्रमण देखिने गर्दछ । उनले भने, ‘अहिले साउनको सुरुवतादेखि डेंगुको संक्रमण बढ्दै गएको हो ।’
यो रोग घरवरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले यो समयमा बढी सर्तकता अपनाउनुपर्ने उनले उल्लेख गरे ।
यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्यांकीलगायत स्थानमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको संक्रमण बढ्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले जानकारी दिए । डेंगु लगेमा पाँचदेखि सात दिनसम्म ज्वरो रहन सक्ने उनले बताए ।
यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्दछन् । त्यस्तै वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुने उनले बताए ।
डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायरलगायतमा पानी जम्न नदिने जनस्वास्थ्य अधिकृत पट्टेलले उल्लेख गरे ।
२२१ जनामा स्क्रब टाइफस
जिल्लाका विभिन्न अस्पतालमा साउनयता २२१ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । उपचारका गर्न आएका एक हजार ६२१ जनाको परीक्षण गर्दा उक्त संख्यामा स्क्रब टाइफसको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख रुपाखेतीले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये ११५ चितवन र १०६ जना बाहिरी जिल्लाका हुन् । गत आर्थिक वर्षमा ७६२ जनाको परीक्षणका क्रममा २४८ जनामा स्क्रब टाइफस देखिएको थियो । स्क्रफ टाइफस मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने उनले जानकारी दिए ।
स्क्रफ टाइफस भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दाग जस्ता लक्षण देखिने गर्दछ ।
यसबाट बच्न खेत, झाडी वा वनजंगलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रण गर्न उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने रुपाखेतीले बताए ।
प्रतिक्रिया