हेटौँडा । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपालका मुस्लिम समुदाय यहीँका आदिवासी भएको बताएका छन् । मकवानपुर मुस्लिम समुदायले मियाँका स्वागत तथा सम्मानमा सोमबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख मियाँले इस्लाम धर्म बाहिरबाट आए पनि मुसलमानहरू यहीँका आदिवासी रहेको दाबी गरेका हुन् ।
मियाँले मुसलमान समुदायबाट कोही प्रदेश प्रमुख, मन्त्री वा कुनै उच्च ओहोदामा पुग्नु ठुलो कुरा नभएको भन्दै सिंगो समुदायको हितलाई प्राथमिकतामा राख्न मुस्लिम समुदायका अगुवाहरूसँग आग्रह गरेका छन् । लामो समयको संघर्षबाट संविधानमा मुस्लिम समुदायको पहिचान सुनिश्चित भएको भन्दै उनले भने, ‘अब मुस्लिम समुदाय छरिएर होइन, एकजुट भएर संविधानले सुनिश्चित गरेका अधिकार प्राप्तिका लागि अघि बढ्नुपर्छ ।’ नेपालीहरूको सोच साम्प्रदायिक प्रकृतिको नभएका कारण नेपालमा इस्लाम धर्माबलम्बीहरू अन्यत्रको जस्तो डर र त्रासमा बाँच्नुपर्ने अवस्था नरहेको मियाँको भनाइ थियो ।
सो अवसरमा बोल्दै बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरूको स्वतन्त्रताको हनन नदिए मात्र समाज सभ्य र सुसंस्कृत हुने धारणा राखेका थिए । देवकोटाले संविधानको कार्यान्वयनका सवालमा कमजोरीहरू रहे पनि साझा संकल्पबाट त्यस्ता कमजोरीहरू हटाई उन्नत दिशातर्फ अघि बढ्न सकिने विश्वास व्यक्त गरे ।
मकवानपुर मुस्लिम समुदायले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ तथा बागमती प्रदेश प्रमुख देवकोटालाई एकसाथ सम्मानित गरिएको थियो । कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरूले अझै पनि आफ्नो समुदायले उत्पीडन भोग्नुपरिरहेको गुनासो पोखेका थिए । संविधानमा मुस्लिम समुदायको अधिकार सुनिश्चित भए पनि व्यवहारमा अझै धेरै क्षेत्रमा आफूहरू पछाडि परिरहेको उनीहरूको भनाइ थियो ।
मकवानपुर
प्रतिक्रिया