वृषबहादुरको मृत्युले राज्यप्रति तेर्सिएको प्रश्न

सम्पादकीय

स्वास्थ्य उपचार नपाएकै कारण लोपोन्मुख राउटे समुदायका २२ वर्षे युवा वृषबहादुर शाहीको गत बुधबार राति मृत्यु भयो । ६ महिनादेखि थलिएका शाहीलाई राउटे समुदायका लागि शिक्षकका रूपमा काम गरेका लालबहादुर खत्रीको विशेष पहलमा साउन ३१ गते कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको थियो । प्राप्त समाचारअनुसार अस्पतालमा जाँच गर्दा उनलाई क्षयरोगले धेरै नै च्यापिसकेको पुष्टि भयो । उनको कलेजो, मुटुमा पनि धेरै क्षति पुगिसकेकाले उपचार हुन नसक्ने भन्दै अस्पतालले डिस्चार्ज गरिदिएको थियो । डिस्चार्जपछि बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका–१ सिमेसाल फर्किंदै गर्दा बाटैमा उनको मृत्यु भयो ।

फिरन्ते जीवन बिताइरहेको राउटे समुदायमा अस्पताल जान नहुने कुप्रथा कायमै छ । २२ वर्षे युवा वृषबहादुर यही कुप्रथाको सिकार भएका हुन् । एकातिर बिरामी हुँदा अस्पताल जानुपर्छ, औषधि खानुपर्छ भन्ने चेतना आउन नसक्नु र अर्कातिर अत्यधिक रक्सी सेवनका कारण कुपोषणको समस्या बढ्दै जानुले राउटे समुदाय छिटै नै लोप हुने अवस्थामा पुगेको छ । शाहीको मृत्यु भएसँगै अब फिरन्ते राउटे समुदायको जनसंख्या घटेर १३४ मा झरेको छ । २०७५ असारयता यो समुदायमा ४३ जनाको मृत्यु भइसकेको छ भने ३१ जनाको जन्म भएको छ ।

वृषबहादुरको निधन राउटे समुदायका लागि त अपुरणीय क्षति हुँदै हो, साथै देशका लागि पनि ठुलो क्षति हो । राउटे समुदायभित्र पर्ने कल्याल जातिका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान वृषबहादुर चलाख थिए । बाबुको शेषपछि मुखिया बन्ने लाइनमा रहेका उनी दुनियाँ (अन्य समुदाय) सँग कुराकानी गर्न निपुण थिए । सरकारी निकाय र आफ्नो समुदायबीच सेतुको भूमिका निर्वाह गर्न थालिसकेका थिए । बाबुको शेषपछि आफू मुखिया बन्ने र मुखिया बनेपछि आफ्नो समुदायलाई ‘दुनियाँ’ जस्तै बनाउने योजना रहेको उनी बताउँथे ।

कम उमेरमै उनले प्रदर्शन गरेको क्रियाकलापले त्यो संकेत देखिएको पनि थियो । आफ्नो समुदायमा कोही बिरामी परे भने गोप्य रूपमै भए पनि औषधिको व्यवस्था गर्न थालेका थिए । तर, जब उनी आफैँ रोगले थला परे, उनलाई औषधि उपचारको व्यवस्था गर्नुपर्छ भन्ने चेतना भएको अर्को व्यक्ति समुदायमा देखा परेन ।

कर्णाली क्षेत्रमा सनातनदेखि नै फिरन्ते जीवन बिताइरहेको राउटे समुदाय लोप हुने अवस्थामा पुगेको कुरा तथ्यांकले नै पुष्टि गरिसकेको छ । राउटे समुदाय लोप हुनु भनेको विश्वबाटै एउटा समुदाय लोप हुनु मात्रै होइन, एउटा भाषा, संस्कृति तथा सीप पनि लोप हुनु हो । यो मामलामा मुख्य कमजोरी राज्य पक्षकै हो । २००७ सालको क्रान्तिपछि जनउत्तरदायी शासन व्यवस्था सुरु भएको हो, तर राउटे समुदायलाई स्थायी बसोबास गराई चेतना भर्ने काम यो ७५ वर्षको अवधिमा राज्यका तर्फबाट भएन । पछिल्ला केही दशकदेखि लोपोन्मुख जातिको सूचीमा राख्दै राउटे समुदायका हरेक व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिन थाल्यो । विभिन्न गैरसरकारी संस्थाहरूले आर्थिक सहयोग गर्न थाले ।

पर्यटकहरूले पैसा दिन थाले । जसका कारण उनीहरूले काठका समान बनाउने परम्परागत पेसा त्याग्दै गए । कुनै बेला जंगलका कन्दमूल र बाँदरको मासु राउटेहरूको प्रिय भोजन थियो । यही भोजनका कारण उनीहरू हृष्टपुष्ट र बलिया थिए, कुपोषणको समस्या थिएन । जब सजिलै पैसा आउन थाल्यो, तब रक्सी सेवनमा मस्त हुन थाले । बाँदरको सिकार गर्ने र जंगलमा कन्दमूल खोेज्ने क्षमता र जाँगर सकियो । चाउचाउ र बिस्कुटसँग रक्सी खाएर छाक टार्न थालेपछि कुपोषण र रोग बढ्नै नै भयो ।

यो समस्या समाधान नभए कर्णाली क्षेत्रको फिरन्ते राउटे समुदाय अबको केही दशकभित्रै इतिहासको पानामा सीमित हुनेछ भन्ने प्रक्षेपणलाई नजरअन्दाज गर्ने मिल्दैन । जे नहुनुपर्ने हो, त्यो हुने लक्षण देखिइसकेको छ । राज्यले उनीहरूलाई भत्ता होइन, रोजगारीको व्यवस्था गर्नुपर्छ ।

४ जनाको परिवारलाई मासिक १६ हजार रुपैयाँ भत्ता दिनुभन्दा एउटा बाँदर मारेर खाएबापत १ हजार रुपैयाँ दिने नीति लिने हो भने एकातिर बाँदरको आतंकबाट राहत हुन्छ, अर्कातिर राउटे समुदायका मानिस कुपोसित हुने समस्या घट्छ । महँगै मूल्य तिरेर भए पनि उनीहरूले बनाएका सामान किन्ने व्यवस्था सरकारले मिलाइदिने हो भने परम्परागत सीपको संरक्षण पनि हुन्छ । तत्कालका लागि भने राउटे समुदायका मानिसलाई रक्सी उपलब्ध गराउन कडा प्रतिबन्ध लगाउनुपर्छ ।

प्रतिक्रिया