जनकपुरधाम । हिन्दूहरूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरको भित्री भागमा फेरि चोरी हुन थालेको छ । तीर्थयात्री श्रद्धालुहरूको घाँटी, कान, नाकबाट सुनका गरगहनाहरू चोरिने क्रम बीचमा रोकिए पनि बुधबारदेखि फेरि चोरी हुन थालेको छ ।
मन्दिरको गर्भगृह अगाडि रहेको दर्शनगर्ने स्थलमा सुनको गरगहना लुटिए (स्नेचिंग)पछि श्रद्धालुहरूमा नकारात्मक सन्देश गएको छ ।
बुधबार जानकी मन्दिरमा भिडभाडका कारण गर्भगृह अगाडि लगाइएको फलामे बार्केट हटाउँदा आधा दर्जन महिलाको सुनको आँैठी, सिक्रिदेखि गरगहनासम्म चोरी भएको जनाएको छ ।
पछिल्लोपटक आरती पूजा भइरहेको बेला २ जना श्रद्धालु महिलाको घाँटीबाट सुनको सिक्री चोरिएको थियो । भारतबाट जानकी मन्दिर दर्शन गर्न आएको ५४ जनाको समूहमा रहेका महिलाहरू मध्ये २ जनाको घाँटीको सुनको सिक्री लुटिएको थियो ।
त्यसपछि मन्दिर परिसरमा र गर्भगृह अगाडिसमेत सिसिटिभि क्यामेरा जडान गरिएको थियो भने फलामे बार्केट लगाइएपछि चोरी न्यूनीकरण भएको थियो । तर, बुधबार जानकी मन्दिरमा श्रद्धालु भक्तजनहरूको अत्यधिक भिडभाड थियो । सो क्रममा बार्केट हटाइएपछि चोरीको घटनामा वृद्धि भएको स्थानीय १ महिलाले बताइन् ।
यस प्रकारको घटना नियमित भइरहे पछि मन्दिरमा पर्याप्त सिसिटिभी क्यामरा जडान गरिएको छ । तर, गर्भगृह अगाडि दर्शन गर्ने ठाउँमा सिसिटिभी म्यामरा जडान गरिएको थिएन । मन्दिरमा श्रद्धालुहरूको सुरक्षा र मार्गदर्शनका लागि पर्यटन प्रहरीको बिट भित्री परिसरमा नै राखिएको छ । मन्दिरको बाहिरी परिसरको विवाहमण्डप परिसरमा जानकी प्रहरीचौकी रहेको छ । हालसम्म मन्दिरमा श्रद्धालुहरूको चोरिएको सुनचाँदीको गरगहना बरामद भएको छैन । न त चोर नै समातिएको छ ।
मन्दिरको मुख्यद्वारसँगै रहेको तल्लो भागको कोठामा पर्यटक प्रहरी राखिएको छ । त्यो कोठादेखि १५ मिटरको दुरीभित्र नै स्नेचिंग हुने गरेको छ । तर प्रहरीले आजसम्म स्नेचिंगगर्नेको पहिचानसमेत गर्न सकेको छैन । प्रहरीको भूमिकामाथि कतिपयले प्रश्नसमेत उठाउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सुनको सिक्री चोरी गर्नेलाई चाँडै पक्राउ गरी चोरिएको गहना बरामद गर्ने दाबी गरे ।
प्रहरी उपरीक्षक तिवारीले बार्केट हटाउनुपरेको कारण र चोरी भएको घटनाबारे अनुसन्धान थालिने भन्दै तत्काल चोरी नियन्त्रण गर्ने बताए ।
प्रतिक्रिया