हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सबैको साझा प्रयासबाट समृद्धिको यात्रा सफल हुने बताएका छन् । संविधान दिवसको अवसरमा बिहीबार बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै लामाले यो यात्राले सही दिशा र गति पत्ता लगाउन केही समय लागेको भए पनि सबैको साथबाट सफलता हात पर्ने बताए ।
बिग्रँदो अर्थतन्त्रलाई संकेत गर्दै लामाले देशमै रोजगारी सिर्जनाका लागि लगानी प्रवद्र्धन, औद्योगिक विकास र शासकीय सुधारको नीतिका साथ प्रदेश सरकार अघि बढेको उल्लेख गरे । संघीयताको स्वरुपमा र प्रादेशिक सरकारको खर्चलाई लिएर उठ्ने गरेका सवालको सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भने, ‘बागमती प्रदेश सरकारले कूल संघीय बजेटको ३.४७ प्रतिशत वित्तीय हिस्सा ओगटेको छ, सीमित स्रोत साधनका बाबजुद नयाँ संस्थागत संरचना निर्माणसहित प्रदेश सरकारले प्राप्त गरेका उपलब्धिहरु आर्थिक रुपले मितव्ययी नै छन् ।’
सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ मुलुकलाई बढाउनुपर्ने दायित्व नयाँ पुस्ताको काँधमा आएको लामाको भनाइ थियो । ‘हिजोका दिनमा सामथ्र्य र पहुँचको अभावमा सिंहदरबारको गेटबाट फर्किने गरेका जनताका योजना आज प्रदेश सरकारले सम्बोधन हुने अवस्था सिर्जना भएको छ’, लामाले दाबी गरे ।
संघीय कानुनका कारण संविधानले निर्दिष्ट गरेका कतिपय अधिकार प्राप्तिर अभ्यासका लागि प्रदेशले संघीय सरकारसँग आवश्यक पहल गरिरहेको उनको भनाइ थियो । प्रादेशिक संरचना सुरु भएयता प्रदेश सरकारले निर्माण गर्नुपर्ने भनी पहिचान भएका ९९ कानुनमध्ये ८० भन्दा बढी निर्माण भैसकेको मुख्यमन्त्री लामाले बताए ।
संविधान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्नु संविधानको मार्गदर्शन भएको बताएका छन् । उनले संविधानको मर्म र भावनालाई अक्षरसः सालना गरेमा देश समृद्धिको बाटोमा दु्रतगतिमा अघि बढ्ने बताए ।
संविधानले निर्दिष्ट गरेका पक्षहरुलाई कार्यान्वयन गर्दै जाँदा सकारात्मक परिणाम आउने विश्वाससहित प्रदेश प्रमुख देवकोटाले भने, ‘कार्यान्वयनको इमानदारिमा सम्पूर्ण तह र तप्काबाट उचित पहल अनिवार्य छ ।’
कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संविधानलाई व्यवहारिक बनाउनेतर्फ सबै तहका सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।
प्रत्येक नागरिकले संघीयताको लाभ लिएको जिकीर गर्दै पूर्वमुख्यमन्त्री पौडेलले अब त्यसलाई संस्थागत गर्न पनि लाभ लिने सबै क्षेत्र जिम्मेवार हुुनुपर्ने बताएका छन् । बागमती प्रदेश, मुख्यमन्त्री कार्यालयको प्राङ्गणमा भएको सो कार्यक्रममा संविधान दिवसका अवसरमा आयोजित विविध कार्यक्रमका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
यस्तै प्रदेश सरकारले २०८० सालको एसईई परीक्षामा ४ जिपीए हासिल गर्न सफल प्रदेशभरिका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई समेत नगदसहित पुरस्कृत गरेको छ । संविधान दिवसका अवसरमा बिहीबार हेटौँडामा विभिन्न सांस्कृतिक समूहका झाँकीसहित नगर परिक्रममा समेत गरिएको थियो ।
मकवानपुर
प्रतिक्रिया