कटहरियाका मेयर जयसवालसहित सबैले पाए सफाइ

Oplus_131072

गौर । रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयिवालसहित सबैले विशेष अदालतबाट सफाइ पाएका छन् । उपभोक्ता समितिद्वारा भएको एउटा काममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर गरिएको थियोे ।

कानुनअनुसार, भ्रष्टाचारको मुद्दा दायर भएपछि पदबाट निलम्बित भएका थिए । विशेष अदालतमा अख्तियारद्वारा मुद्दा दायर भएपछि निलम्बित अवस्थामा रहेका नगर प्रमुखसहित सम्पूर्ण पदाधिकारी अब बहाल हुने भएका छन् ।

अख्तियारद्वारा गत असार २० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियोे । कटहरिया नगरपालिका–२ जमुनियामा रहेको सामुदायिक भवनमा टायल लगाउने काममा १२ लाख ५२ हजार ९४१ रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको थियोे ।
सोही विषयमा अख्तियारद्वारा नगरप्रमुख अजयप्रकाश, उपप्रमुख रीता देवी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियरद्वय राजकुमार साह र मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, वडा–८ का वडाध्यक्ष समिश विक्रम साह, मनोज प्रसाद जयसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साहमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको थियोे ।

विशेष अदालतका न्यायाधीश त्रय खुसीप्रसाद थारू, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले नगरप्रमुख अजयप्रकाशसहित सम्पूर्ण प्रतिवादीलाई सफाइ दिएका छन् । दोषी प्रमाणित गर्न प्रमाण अपुग रहेको भन्दै विशेष अदालतद्वारा सबैलाई सफाइ दिएको हो । विशेष अदालतद्वारा सफाइ दिएपछि सबै जनाको निलम्बन फुकुवा भएको छ ।

नगरप्रमुख अजयप्रकाश, उपप्रमुख रीतादेवी यादव, वडाध्यक्ष समिश विक्रम शाहसहित सम्पूर्ण प्रतिवादीले एकसाथ अदालतबाट सफाइ पाएको खबर सार्वजनिक हुँदै स्थानीय खुसी भएका छन् । केही महिनादेखि अवरुद्ध भएको विकास निर्माणको काम अब धमाधम सञ्चालन हुने विश्वास सर्वसाधारणले राखेका छन् । अभिभावकविहीन अवस्थामा रहेको नगरपालिकामा अब सारा काम विधिपूर्वक सञ्चालन हुने र नगरपालिका कार्यालयमा कर्मचारी पनि नियमित रूपमा आउने प्रतिक्रिया सर्वसाधारण दिएका छन् ।

प्रतिक्रिया