राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोप कपोलकल्पित रहेको ठहर संसदीय छानविन समितिले गरेको छ । त्यतिबेला गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेले राजनीतिमा आउनुभन्दा अघि विभिन्न सहकारीहरूबाट गैरकानुनी रूपमा रकम लिएको आरोप लगाउँदै नेपाली कांग्रेसले छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेको थियो । तत्कालीन प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको माग बमोजिम गत जेठ १५ गते गठित छानविन समितिले ३ महिना १० दिनको अध्ययनपछि सोमबार सभामुखसमक्ष प्रतिवेदन पेस गरेको छ ।
लामिछानेले कुनै पनि सहकारीबाट गैरकानुनी रूपमा रकम निकालेको प्रमाण फेला नपरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । अर्थात् संसदीय छानविन समितिले लामिछानेलाई सहकारी ठगीको आरोपमा क्लिन चिट दिएको छ । बरु नेपाली कांग्रेसकै उपसभापति धनराज गुरुङ सहकारी ठगीमा संलग्न रहेको आशंका गर्दै उनीमाथि थप छानविन हुनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।
सहरकारीबाट रकम झिक्ने भूमिकामा संलग्न नदेखिए पनि आफ्ना व्यावसायिक साझेदारहरूले गैरकानुनी रूपमा झिकेको रकम खर्च गर्ने मामिलामा भने लामिछानेको संलग्नता रहेको निष्कर्ष छानविन समितिले निकालेको छ ।
पैसा खर्च गर्ने मामिलामा दोषी देखिएको भन्दै लामिछानेमाथि कानुनअनुसार कारबाही अघि बढाउन समितिले सरकारसमक्ष सिफारिस गरेको छ । त्यसैले रास्वपाका सभापति लामिछाने दोषी ठहर भए वा निर्दोष ? भन्ने सन्दर्भमा धेरैले आआफ्नो स्वार्थ अनुसारका दृष्टिकोणहरू सार्वजनिक गरेका छन् ।
छानविन समिति गठन गर्नुको मुख्य उद्देश्य नै रास्वपाका सभापति लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम निकालेका थिए कि, थिएनन् ? भन्ने हो । लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका कारण यो आरोप लागेको हो कि, उनी साँच्ची नै यसमा संलग्न थिए ? भन्ने प्रश्न आमचासोको विषय बनेको थियो । किनकी यो मुद्दा तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले धेरै नै पछि उठाएको थियो ।
यो मुद्दा उठाउन मुख्य भूमिका नेपाली कांग्रेसका महामन्त्री गगन थापाको थियो । गगन थापा जत्तिको जिम्मेवार नेताले यो मुद्दा उठाएका कारण लामिछाने साँच्ची नै संलग्न भएका हुन् कि, भन्ने धेरैलाई लागेको थियो । संसद्भित्र वा बाहिर बोल्न क्रममा पनि कांग्रेस महामन्त्री थापाले लामिछानेको संलग्नताका सन्दर्भमा आफूसँग यथेष्ट प्रमाणहरू रहेको दावी गरेका थिए । छानविन समिति गठन पनि सानो प्रयत्नले भएको थिएन ।
संसद् अवरुद्धजस्तो अन्तिम हतियार प्रयोग गरेर छानविन समिति गठन गरिएको थियो । अब छानविन समितिले लामिछानेलाई सहकारी ठगी प्रकरणमा क्लिन चिट दिएपछि कांग्रेस महामन्त्री थापामाथि के कस्तो नैतिक संकट आउँछ ? भन्ने प्रश्न निकै विचारणीय छ ।
बास्तवमा रास्वपा सभापति लामिछाने र कांग्रेस महामन्त्री थापा दुवै जना देश र जनताले भरोषा गरेका ज्वाजल्यमान युवा नेताहरू हुन् । देशको राजनीति निराशाजनक हालतमा गुज्रे पनि भविष्य सकारात्मक हुन सक्छ भनेर जनताले आशा गर्नुको मुख्य कारण पनि यिनै २ जना नेताहरू हुन् । तर देशको भविष्य सम्हाल्ने भनेर आशा गरिएका यी दुई युवा नेताहरू स्वयं नै एकअर्कालाई सिध्याउने गरी द्वन्द्वमा उत्रिए ।
जुन दुर्भाग्यपूर्ण थियो । ७ महिना लामो समय खेर गयो । अब प्रतिवेदन आइसकेको छ । सहकारी ठगीमा क्लिन चिट पाएका कारण आफूले जितेको ठम्याइमा रास्वपा सभापति लामिछाने पुुग्नु स्वभाविकै हो ।
गोर्खा मिडिया सञ्चालन गर्दा साझेदारहरूले के कसरी रकम जुटाए भन्ने होस् पुर्याउन नसकेका कारण लामिछाने कारबाहीको भागिदार भएकोले आफूले जितेको ठम्याइमा कांग्रेस महामन्त्री थापा पुग्नु स्वभाविकै हो । तर यी दुवै नेताले अब घमण्ड नगर्दा नै जाति हुन्छ । किनकी यो प्रकरणमा दुवैले हारेका छन् र दुवैले पाठ पनि सिकेका छन् ।
प्रतिक्रिया