बागलुङ जीप दुर्घटना अपडेट : पुथाउत्तरगंगाकी उपाध्यक्ष भुपेन्द्रासँगै अस्ताइन् ६१ वर्षीया आमा पनि

बागलुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र अर्का एक पुरुषको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार रा १ झ २०० नम्बरको सरकारी जीप आज बिहान गलकोट–२ भुङ्खानीमा सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । तीनै जनाको घटनास्थलमै ज्यान गएको उनले बताए । घटनास्थलबाट एक घाइतेलाई उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल पठाइएको छ ।

रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्काका अनुसार उक्त जीपमा पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार थिए । उपाध्यक्ष बुढा केही दिनअघि आमालाई लिएर काठमाडौं गएको जानकारी पाएको उनले बताए ।

दुर्घटनास्थलमा परिचयपत्र फेला परेपछि मात्र दुर्घटनामा उपाध्यक्ष बुढा परेको खुलेको थियो । बिहानै जीप दुर्घटनामा परे पनि स्थानीयले घाँस काट्न जाने बेला देखेपछि उनीहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए । जीपमा कति जना सवार थिए भन्ने यकिन नभएको सहायक प्रजिअ खड्काले बताए ।– रासस

प्रतिक्रिया