विगतमा जस्तै यस वर्षको दसैँमा पनि राजधानी काठमाडौँमा खसीबोका तथा च्यांग्रा आपूर्ति गर्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको छ । १ हजार ५०० खसीबोका र ३०० च्यांग्रा आपूर्ति गर्न लागिएको कम्पनीले जनाएको छ । घटस्थापनाको अघिल्लो दिनदेखि बिक्री सुरु गरिने पनि कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले करिब तीन हजार खसीबोका ल्याइएकोमा बिक्रीमा समस्या देखिएका कारण यस वर्ष संख्या घटाइएको हो ।
केही दशक अघिका दसैँसम्म राजधानी काठमाडौँमा खपत हुने खसीबोकामध्ये करिब १० प्रतिशत आपूर्ति खाद्य व्यवस्था कम्पनीले गथ्र्यो । काठमाडौँमा खपत हुने च्यांग्रामध्ये ३० प्रतिशत आपूर्ति कम्पनीले नै गथ्र्यो । नेपालको उत्पादनले नपुगेर चीनको तिब्बतबाट समेत ठूलो परिमाणमा च्यांग्रा ल्याइन्थ्यो ।
केही हजार च्यांग्राहरू चीन सरकारले उपहार स्वरूप उपलव्ध गराउँथ्यो । तर, अहिले स्वदेशी उत्पादनले नै धान्ने गरेको छ । खाद्य व्यवस्था कम्पनीले पनि व्यापारका लागि नभएर बजारमा उपस्थित जनाउन मात्रै खसीबोका तथा च्यांग्रा आपूर्ति गर्न थालेको छ । किनकी दसैँमा मात्रै काठमाडौँ उपत्यकामा ७० हजार खसीबोका तथा च्यांग्रा खपत हुन्छ ।
यसमध्ये व्यापार कम्पनीले १ हजार ८०० आपूर्ति गर्नु भनेको हात्तीको मुखमा जिरा भनेजस्तै हो । तर किसानको बिक्री मूल्य निर्धारण गर्न तथा उपभोक्ताको खरिद मूल्य निर्धारण गर्न भने केही न केही योगदान पुगेको छ । व्यापारीहरूले ‘कार्टेलिङ’ गर्ने संभावनालाई न्यूनीकरण गर्न पनि केही न केही योगदान पुगेको छ ।
दसैँ पर्वको २–३ दिनको अवधिमा काठमाडौँ उपत्यकामा मात्रै ७० हजारभन्दा बढी खसीबोका खपत हुनु भनेको ज्यादै ठूलो व्यापार हो । यो व्यापारको प्रारम्भिक विक्रेता भनेका ग्रामीण क्षेत्रका किसान हुन्, क्रेता भनेका सहरी क्षेत्रका उपभोक्ता हुन् । सहरको पैसा गाउँमा पुग्ने सशक्त माध्यमसमेत हो खसीबोका व्यापार ।
दसैँको अवसरमा हुने खसीबोका व्यापारमा राज्यपक्षले ध्यान पुर्याउनुपर्ने पाटा २ वटा छन् । एउटा पाटो भनेको किसानले विक्रि गर्ने मुल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा अनुचित अन्तर पर्न नदिनु हो । यो पाटोमा सरकारले गर्दै आएको प्रयासलाई खासै असन्तोष मान्नुपर्ने अवस्था छैन । तर किसानबाट खरिद गर्ने समय अलि छोटो भएको छ । कम्तिमा १ महिनाअघि नै आफ्ना खसीबोका बेच्न पाए भने किसानले दसैँका लागि आवश्यक बस्तुहरू पनि समयमै खरिद गर्न पाउँछन् ।
बजार छिटो छिटो चलायमान हुन्छ । तर अन्य मालसमानजस्तो खसीबोका स्टोर गरेर राख्न संभव नभएको भन्दै खाद्य व्यवस्था कम्पनीले खरिद र बिक्रीको समय ज्यादै थोरै राख्ने गरेको छ । खाद्य व्यवस्था कम्पनीको यो कठिनाइ स्वभाविक हो । किनकी स्टोर गरेर राख्ने उचित ठाउँको अभावका कारण खसीबोका दुब्लाउने र मर्ने गरेकोले खाद्य व्यवस्था कम्पनीले घाटा बेहोर्दै आएको छ । घाटा हुने भएकैले कम्पनीले हरेक वर्ष व्यापारको परिणाम घटाउँदै आएको छ ।
खाद्य व्यवस्था कम्पनीले खसीबोका खरिद गर्ने र बिक्री गर्ने समय कम्तिमा १ महिना लम्ब्याउने हो भने किसानले ठूलो राहत पाउँछन् । ढुवानी गर्नुभन्दा १ महिनाअघि नै स्थानीय सरकारको जमानीमा ७५ प्रतिशत रकम अग्रिम उपलव्ध गराएर खसीबोका ‘बुकिङ’ गरिदिने हो भने किसानलाई दसैँ खर्चको जोहो गर्न सजिलो हुन्छ । मूल्य नियन्त्रणमा पनि सहज हुन्छ । अघिल्लो दिन भारतबाट तस्करी गरेर खसी ल्याउने र आफूले पालेको भन्दै बिक्री गर्ने धन्दा कम गराउन पनि मद्दत पुग्छ ।
केही वर्ष अघिसम्म विदेशबाट ठूलो परिमाणमा खसीबोका आयात हुने गरेकोमा पछिल्ला केही वर्षदेखि स्वदेशी उत्पादनले नै धान्न थाल्नु भनेको अत्यन्त सुखद् पक्ष हो । भारतबाट खसीबोका आयातमा प्रतिबन्ध लगाइएका कारण लगानी अनुसारको प्रतिफल पाउने अवस्थामा नेपाली किसान पुगेका हुन् । पछिल्ला वर्षहरूमा त भारतीय किसानकै मूल्यमा खसीबोका बिक्री गर्न सक्ने हैसियतमा नेपाली किसान पुगेका छन् ।
विगत ५ वर्षको अवधिमा धेरैजसो उपभोग्य बस्तुको मूल्य दोब्बर भएको छ, तर खसीबोकाको मासुको मूल्य स्थिर छ । यो स्थिरताले उपभोक्तालाई फाइदा भएकै छ, तर किसानलाई घाटा त हुन थालेको छैन ? भन्नेतर्फ सरकारले बेलाबेलामा अध्ययन गर्नु जरुरी छ । किनकी घाटा लाग्न थाल्यो भने किसानहरू बाख्रापालन व्यवसायबाट पलायन हुन्छन्, अनि विगतमा जस्तै भारतबाट अर्बौं रुपैयाँका खसीबोका आयात गर्नुपर्ने दुस्चक्रमा देश फस्न सक्छ ।
प्रतिक्रिया