अर्घाखाँची । पछिल्ला बर्षहरूमा आत्महत्याका घटनाका कारण थप चुनौती थपिएको छ । समाजमा सामाजिक चुनौतीका रूपमा रहेको आत्महत्यालाई राज्यले नै जनस्वास्थ्यको समस्या मानेर रोकथामका प्रभावकारी उपाय अपनाउन जरुरी रहेको छ ।
आत्महत्याको समग्र घटनाको विश्वव्यापी तुलनात्मक अध्ययनले धेरै आत्महत्या हुने सूचीमा राखेको छ । बिश्वमा सबैभन्दा धेरै आत्महत्या गर्ने देशहरू मध्ये नेपाल आठौँ नम्बरमा परेको तथ्यांकले देखाएको छ ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ‘आत्महत्याको रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अथिति रहेका सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सामाजिक तथा पारिवारिक, गरिबी, आर्थिक समस्या लगायतका विभिन्न कारणहरूले धेरै आत्महत्याका घटनाहरू हुने गरेको भन्दै यसको रोकथामका लागि जिल्ला प्रहरी कार्यालयको समन्वयमा नगरपालिकाले अभियान सञ्चालन गर्ने बताए ।
नगरप्रमुख श्रेष्ठले भने, ‘आत्महत्याको मानसिक तथा मनोसामाजिक मूल कारण भएको हँुदा समस्या पहिचान गरी मनोपरामर्शकर्तासँग परामर्श लिएर अगाडि बढ्नुपर्छ । नगरमा १ जना मात्र मनोपरामर्शकर्ता हुँदा जनशक्ति कम भएको छ, त्यसका लागि सबै स्थानीय तहले यसको व्यवस्थापन गर्न जरुरी छ’, उनले भने, ‘स्वास्थ्यकर्मीहरूले विशेष रूपमा यो विषयमा ध्यान दिनुपर्ने देखिन्छ, विज्ञसहितको टिमले आवश्यक अध्ययन गरी विशेष योजनाका साथ अगाडि बढ्नुपर्ने जरुरी छ, यसका लागि सबै सरोकारवालाको सक्रियता आवश्यक छ ।’
कार्यक्रमका अध्यक्ष एवं सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले आत्महत्या समाजको जटिल समस्याको रूपमा देखिएकोले आत्महत्या न्यूनीकरणका लागि अभियान नै चलाउनुपर्ने भन्दै उक्त कार्यका लागि क्रियाशील समिति बनाई अगाडि बढ्नुपर्ने बताइन् ।
नगर स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले आत्महत्याका कारण, चुनौती र रोकथामका सन्दर्भमा विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । शाखाप्रमुख पराजुलीले प्रस्तुतीकरण गर्दै भने, ‘आत्महत्याका मुख्यकारण आर्थिक, सामाजिक जैविक, मानसिक सांस्कृतिक तथा पर्यावरणीय लगायतका धेरै कारण छन् । यसमा सबै पक्षले ध्यान दिन जरुरी छ, यसको रोकथामका लागि आत्महत्याको जोखिम बढी भएका व्यक्तिहरू अथवा जोकोही व्यक्तिलाई राम्रो व्यवहार गर्ने, सबैको कुरा सुन्ने मनोपरामर्श कार्यक्रमलाई नियमित र प्रभावकारी गर्ने साथै सबै सरोकारवाला सक्रिय हुनुपर्ने देखिन्छ ।’
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विपन कार्कीले प्रहरीले आत्महत्या न्यूनीकरणको कार्यक्रम अभियानकै रूपमा वडा तहसम्म नै सञ्चालन गरेको भन्दै पहिल्लो ४ वर्षमा अर्घाखाँचीमा १८२ जनाले आत्महत्या गरेको बताए ।
समग्रमा जीवनप्रति चरम वितृष्णा, मानसिक तनाव, निरासा असफलता अवैध यौन सम्बन्ध, लागुपदार्थ दुव्र्यसन, बढ्दो बेरोजगारी, आर्थिक अभाव, सामाजिक अपहेलना तथा उपेक्षाका कारण यस्ता घटनाहरू बढ्ने गरेको उनले पाइएको छ । कतिपय आत्महत्या भएका ठाउँमा फेला परेका सुसाइट नोटमा उल्लेख गरिएका र परिवारमा सोधपुछका आधारमा विभिन्न कारणहरू पनि समेटिएका छन् । नोटमा कतिपयले दीर्घ रोगका कारण, पढाइमा असफलता, प्रेममा असफल भएर आत्महत्या गरेको उललेख गर्ने गरेका छन् । उपचार गराउन पैसा नभएर आत्महत्या गर्नेहरू पनि छन् । जसलाई सानो सहयोग, परामर्श गर्दा बचाउन सकिन्छ ।
जनस्वास्थ्यको समस्याको रूपमा स्वीकार गरेर राज्यले नै अभियान सञ्चालन गरेको भए योे सबैको साझा अभियान पनि बन्न सक्थ्यो र दुरुत्साहन रोक्न सकिन्थ्यो । राज्यले नै विशेष स्वास्थ्य नीति बनाएर अभियान चलाउन आवश्यक रहेकोमा सबैको एक मत थियो ।
अर्घाखाँची
प्रतिक्रिया