अपांगता भएका व्यक्तिले घरमै परिचयपत्र पाएपछि …

गोरखा । सहिद लखन गाउँपालिकाले पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण तथा नवीकरण गरेको छ ।

गाउँपालिकाले अपांगता भएका व्यक्तिका सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपांगता परिचयपत्र वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

‘अपांगता भएका कोही पनि व्यक्ति परिचत्रपत्र बनाउन नसकेर राज्यले प्रदान गर्दै आएको सेवासुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य गाउँपालिकाको हो, पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपांगता भएका व्यक्तिका घरघरमा पुगेर सबै प्रक्रिया पूरा गरी परिचयपत्र वितरण गरेको हो’, उनले भनिन् ।

परिचयपत्र वितरणका लागि गोरखा अस्पतालका मेडिकल अफिसर सन्तोष सिटौलासहित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठलगायत टोली अपांगता भएका व्यक्तिको घरघरमा पुगेका थिए । ‘अपांगता परिचयपत्र दिन मेडिकल रिपोर्ट अनिवार्य हुन्छ, त्यसका लागि चिकित्सकसमेत घरमै पठाइएको हो’, उपाध्यक्ष तिवारीले भने ।

पालिकाभित्रका दुई सय ३३ जना अपांगता भएका व्यक्तिलाई सेवा प्रदान गरिएको उनले बताए । जसमा परिचयपत्र नभएका थप नौ जनालाई नयाँ अपांगता परिचयपत्र वितरण गरिएको छ भने दुई सय २४ जनाको अपांगता परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

नयाँ अपांगता परिचयपत्र वितरण गरिएकाहरुमा वडा नम्बर २, ४, ५, ६, ८ र ९ का रहेको उनले बताए । पालिकाले यही भदौ २० देखि २४ गतेसम्म घर तथा टोलटोलमा पुगेर परिचयपत्र वितरण तथा नवीकरणको काम सम्पन्न गरेको हो । घरमै परिचयपत्र नवीकरण तथा नयाँ परिचयपत्र प्राप्त गरेपछि लाभग्राही दंग छन् ।

प्रतिक्रिया