लुम्बिनी । लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । उनले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन् ।
कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । कर्तव्य ज्यान मुद्दाका आरोपति कुर्मी मन्त्री भएपछि चर्को विरोध भएको थियो । चौतर्फी विरोध भएपछि कांग्रेसले कुर्मीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
गत निर्वाचनमा उनी बाँकेको निर्वाचन क्षेत्र नं ३ (२) बाट विजयी भएका थिए । बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको आरोप छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरू फेला परेका थिए । एकल महिला रहेकी निर्मलाको सम्पत्ति हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको बताइएको छ ।
प्रतिक्रिया