बलभद्र जयन्तीमा कलबार समुदायको पूजापाठ र शोभायात्रा

जनकपुरधाम । जनकपुरधाममा सम्मानजनक सहभागिता र पहुँच बनाइरहेको कलवार समुदायको कुल देवता बलभद्र भगवान्को जयन्ती भव्यताका साथ मनाउँदै छन् । समुदायका महिला पुरुष, युवायुवतीसहित स–परिवार जनकपुरधामस्थित ब्याहुत सेवा समिति कलबार कुट्टीमा पूजापाठ र विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।


सो अवसरमा समुदायको सामुहिक सहभागितामा जनकपुरधाममा भव्य शोभायात्रासमेत निकालिएको थियो । बिहान निकालिएको शोभायात्रा जनकपुरधामको मुख्य बजार क्षेत्रको परिक्रमापश्चात् कलबार कुट्टी पुगेको थियो । सोमबार दिनभर भगवान् बलभद्रको पूजा आराधना, दिवाभोज, प्रसाद वितरण सहितको कार्यक्रम गरियो ।


प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाइने गरिन्छ । भक्तजनहरूको मन्दिरमा घुइँचो लागेको थियो भने पूजा भव्यतापूर्वक गरिएको थियो । यसअघि आइतबार भव्य कलश यात्रासमेत निकालिएको थियो । भगवान् कृष्णको दाई भगवान् बलरामलाई बलभद्र भगवान्को रूपमा चिनिन्छ ।


बललाई शक्ति र भद्रलाई अन्नको रूपमा परिभाषित गरिन्छ । बलभद्र भगवान्लाई भात, विशेष किसिमको दाल र ५ थरीको तरकारीको भोग लगाउने प्रचलन रहेको छ । भगवान्को पूजापश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरूले प्रसादको रूपमा ग्रहण गर्ने प्रचलन छ ।

प्रतिक्रिया