जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ कुमरौढास्थित महावीर साह परिवारमा बज्रपात परेको छ । महावीर साहका बुबा जुगेश्वर साहको निधन भएकाले गत बुधबार संस्कारको अन्तिम दिन उनको घर छेउकै पोखरीको फराकिलो डिलमा ७ गाउँका हजारौँ जना भोज खान जम्मा भएका थिए । उक्त भोजमा उनका परिवारजन र नातेदार पनि जम्मा हुनु स्वभाविक नै थियो ।
भोजका कारण महावीर साहको बुहारीको अन्य २ दिदीबहिनीहरू क्रमशः धनुषाको सबैला र चौलिख्खाबाट पनि बालबच्चासहित त्यहाँ आएका थिए । तर, तिनै जनाको १–१ सन्तान (छोराहरू)को भोजस्थलसँगै रहेको पोखरीमा डुबेर दुःखद् मृत्यु भयो । सो घटनापछि परिवार र गाउँ शोकमा छन् । महावीरको छोरा दिलीप साहको जेठो छोरा ११ वर्षीय आयुस साहसहित १० वर्षीय आदित्यकुमार साह र १४ वर्षीय सुशान्त साह गरी ३ जना बालकको सो दुर्घटनामा मृत्यु भयो ।
नातामा मृतक तिनै जना बालक माहावीर परिवारको नाती पर्दछन् । त्यसपछि पनि धनुषामा थप १ पुरुषको डुबेर मृत्यु भइसकेको छ । यो त एक उदाहरण घटना मात्र हुन यी ३ जना बालकहरूसहित मधेस प्रदेश प्रहरीको कार्यालयको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको महिना साउन र २२ भदौसम्म मात्र ५० जनाको डुबेर मृत्यु भएकोमा ३९ जना बालबालिका छन् ।
मधेस प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मात्र १ महिना २२ दिन (शनिबार सम्ममा) ५० जनाको मृत्यु भएको छ । जसमा धनुषामा सर्वाधिक १३ जनाको मृत्यु भएकोमा ९ बालबालिका ३ पुरुष र १ महिला छन् । त्यसैगरि महोत्तरीमा ७, सप्तरीमा ७ र रौतहट तथा सर्लाहीमा ६÷६ जनाको डुबेर मृत्यु भएको छ ।
गत आर्थिक वर्षमा १८५ जनाको मृत्यु
प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा मधेसमा डुबेर १८५ जनाले ज्यान गुमाएका छन् । जसमा बालबालिका १२४, पुरुष ४७ र महिला १४ जना छन् । सो एक वर्षमा सबैभन्दा बढी सप्तरीमा ३६, धनुषा ३१, रौतहट ३० र सर्लाहीमा २६ जनाको मृत्यु भएको देखिन्छ । सबै जिल्लाहरूको तथ्यांक हेर्दा अधिकांश बालबालिकाले ज्यान गुमाएका छन् । मधेस प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता सुवास चन्द्र बोहराका अनुसार घटनाहरू समग्रमा हेर्दा मानवीय त्रुटी, वर्षातको समयमा पोखरीमा जाने पौडी खेल्ने, माछा मार्ने, अभिभावकको पहुँच र सम्पर्कबिना यस्ता प्रयास गर्ने, स्थानीयतहले विकास निर्माणका क्रममा खाल्डाहरू खन्ने र त्यसमा पानी जमेर जोखिम पनि छ भन्ने कुराको जानकारी अभावमा घटना हुने गरेको छ ।
प्रतिक्रिया