कालाकारको अधिकारबारे छलफल

धनुषा । जनकपुरमा बिहीबार मनोरञ्जन क्षेत्रमा संलग्न व्यक्तिहरूको अधिकारबारे स्थानीय तहमा छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला कानु एवं विकास मञ्च, सिएसी नेपाल, जागृति महिला महासंघ, दिगो सामाजिक विकासका लागि मित्रता, मिनिस्ट्री फेरेगन र यूएन महिलाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा सहभागीले विशेषगरी यौन व्यवसायमा संलग्न महिलाहरूको व्यवस्थापन र कानुनी अधिकारको विषयमा विस्तृत छलफल गरेका थिए । सहभागीले बाध्यतावश यौन पेशामा लाग्नुपरेका महिलाहरूलाई सीपमूलक तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

साथै, यौन पेशामा लाग्दा महिलाहरूलाई सुरक्षित राख्ने जनचेतना फैलाउनुपर्ने र जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतामा पनि सहभागीहरुले जोड दिएका छन् ।
विश्वमा यौनकर्मी महिलाहरूको कानुनी व्यवस्थापन र नेपालमा भइरहेको कानुनी अवस्थाको विषयमा अधिवक्ता राजकुमार महासेठले आफ्नो प्रस्तुति दिएका थिए । उनले नेपालमा यौनकर्मी महिलाहरूको कानुनी सुरक्षामा सुधार गर्नुपर्नेमा विशेष जोड दिँदै, वर्तमान कानुनी चुनौतीहरू र विश्वव्यापी अभ्यासबारे पनि उनले प्रस्ट पारेका थिए ।

स्पर्स नेपालका फोकल पर्सन कुल्दीप साहले धनुषा जिल्लामा करिब ९ सयदेखि एक हजार महिला यौनकर्मी रहेको तथ्यंक प्रस्तुत गरेका थिए । उनले आफ्नाे संस्थाको सम्पर्कमा आएको तथ्यांकको आधारमा यस्ता महिलाहरूको संख्या उल्लेख रहेको बताउँदै उनीहरूको व्यवस्थापन र संरक्षणको लागि दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, कानुन व्यवसायी, महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया