सेतो जुवा

त्यसघरबाट म र बा बिहानको मिरमिर उज्यालोभन्दा पहिले नै हिँड्यौं । मैले रातभरीमा ठूलो भएर, धनी भएर, धेरै पैसा कमाएर, बजारमा काठको घर बनाएर, पाइप पिउँदै टेलिभिजनको ढ्वाङग्रोबाट राजाको दरबारको नाँच हेर्ने निर्णय गरेको थिएँ । मेरा सुन्निएका आँखाले अलिक पर पुगेर त्यस घरलाई हेरेर अब आइन्दा जीवनभर त्यस घरमा नआउने प्रण गरे । एक्कासि मेरो घाँटी भरिएर आयो । मैले त्यसघरतर्फ फर्किएर बेस्कन थुकेँ । मैले टेलिभिजन हेर्न नपाएको रिस थुकेपछि पोखियो क्यारे मलाई अलिक हलुंगो महसुस भयो । त्यसदिन भारी मन, सुन्निएका आँखा, दृढ संकल्प, बलिया गोढा लिएर त्यसघरबाट निस्किएर हिँडेको म, आजसम्म पनि त्यसघरमा फर्किएर गएको छैन र जाने पनि छैन ।

शंकर धिताल

‘तँ मुलाङ्गले नपत्याको ? बाजी ठोक्छस् त ?’

‘बाजी भने बाजी नै !! लु भन केको बाजी ?’

केको बाजी राख्ने होला त ? माझघरे काकामाथि ठूलो प्रश्न खडा भयो ।

‘जो हार्छ उसले जित्नेको तोरी कलमा लगेर पेलेर ल्याइदिने । हुन्छ ?’

‘धेत् । यस्तो पनि बाजी हुन्छ ?’ बाले नकार्नुभयो ।

माझघरे काका र बा दुवै जना बाजी राख्ने विषयको छनोट गर्न सोचमग्न भए । बाले के सोच्नुभयो कुन्नी, एकछिनपछि बोल्नुभयो ।
‘ल हुन्छ त उसो भा ! जो हार्छ उसले जित्नेको तोरी पेलेर ल्याइदिन्छ । लु हिँड् कान्छाको स्कुल जूम ।’

बा र माझघरे काका फलेर पट्पटी फुट्दै गएको तोरीका बाला काट्न छोडेर मध्यदिनमा म पढ्ने स्कुलतिर लाग्नुभयो । फाल्गुनका दिन, ताता घामले गर्धन पोलेर कालै भएका, मैलो दौरा, फाटेको टोपी, फुटेका गोडा, हातमा हँसिया बोकेका दुई भाइ ‘श्री प्रणयमान निम्न माध्यमिक विद्यालय, मादी–५, संखुवासभा’ को मक्किएको बाँसको तगारो नाघेर म भएकै कोठातिर आइरहेको मैले देखेँ । मलाई अर्कोपट्टी हेरौँ कि, टाउको लुकाउँ कि कसो गरौँ भनेर त्यसै छटपटी भयो । कक्षाकोठामा गणित पढाइरहेका भरत सरलाई केही वास्तै नगरी सुरुसुरु बा र काका कोठाभित्र प्रवेश गरेर ‘कान्छा ए कान्छा’ भनेर बोलाउन थालिहाल्नुभयो । भरत सरले हतारहतार सानो स्वरमा बासँग केही खासखुस गर्नुभयो र मेरो नाम लिएर बोलाउनुभयो, ‘नवराज धिताल वहाँहरूसँग एकछिन बाहिर जाऊ ।’

मलाई बाहिर सरस्वतीको मन्दिर अगाडि ल्याएर त बाले ‘सबै जिल्लाको नाम भन्’ भन्नुभयो । म अल्मलिएँ । फेरी काकाले पनि ‘भन् छिटो’ भनेपछि मैले भन्नै पर्ने भयो । मैले कनिकुथी ६५ जिल्लाको नाम भनेँ बा खुसीले बुरूक्कै उफ्रिनुभयो । ‘लु केटा अब तैँले त्यो जुमै तोरी लगेर पेल्नुपर्ने भयो ।’ बाले खुसी र गर्व एकैसाथ मिसाएर काकालाई सानोतिनो हुकुम नै दिनुभयो । माझघरे काका छक्क पर्नुभयो ‘यसले त जम्मा ६५ वटा जिल्लाको मात्रै नाम भन्दैछ, जिल्ला त जम्मा ७५ वटा छन् । खै जान्यो त जुमै ?’ काकाले खुसी हुँदै बालाई नै उत्तर दिनुभयो । बाको रवाफ सल्र्याकसुर्लुक्कै घट्यो र बाले मतिर हेरेर ‘होइन जम्मा जिल्ला यति नै हैनन् ?’ भनेर सोध्नुभयो । मैले के भन्ने ? मलाई त आपत प¥यो, हो भनम् ढाँटिने भैयो, त्यो पनि सरस्वती मन्दिरको अगाडि । होइन भनम्, बाले हार्नु पनि हुने भो र मैले सबै जिल्लाको नाम नजानेको कुरो पनि थाहा हुने भयो । मैले घोषे परेको मुन्टो उठाउनै सकिनँ । कतिबेला काका र बा जानुभयो, कतिबेला मेरा खुट्टाका बुढी औँलामा नुनिला पानीका २ ढ्याक चुहिए, कतिबेला साना कक्षाका केटाकेटी वरिपरि भेला भएर हाँस्न थाले, मैले केही चालै पाइनँ ।

म ३ बाट ४ कक्षामा आउँदा प्रथम भएको थिएँ, यसको मतलब मैले सबै जान्दछु भन्ने त हैन नि । यो कुरा म मेरा बालाई कसरी बुझाउँ ? वहाँलाई त नाम लेखेर देखायो भने ‘लौ मेरो छोरो अब मास्टर हुन लायकको भयो ।’ भन्न मात्र आउँछ, रिसै उठ्दो । म यस्तै सोच्दै आफ्नो बालाई गाली गर्दै आफ्नै गल्तीप्रति आफ्नैलागि सहानुभूति भर्दै कक्षाकोठा फर्किएँ । कक्षामा छत्र सरको कक्षा सुरू भइसकेको रैछ । म ढिलो गरी पस्न लागेकाले सरले मौका पाइहाल्नुभयो । आखिर छत्र सर पनि त सानोतिनो सर हुनुहुन्थेन, एक त हेडमास्टर त्यसमाथि पनि अंग्रेजी पढाउने । वहाँको बारेमा एउटा हल्ला थियो । पोहोर सालको एउटा विद्यार्थी मधेस गई पढ्ने भएछ र चारित्रिक प्रमाण–पत्र लिन भनी स्कुल आएछ । छत्र सर के झ्वाँकमा थिए कुन्नी ‘निजको बानी बेहोरा ठिक ठिकै छ ।’ भनेर पहाडे कागजमा लेखेर रातो मसीले हस्ताक्षर धस्काइदिएर पठाइदिएछन् ।

यस्ता बहुप्रतिभाशाली सरले मलाई सारा कक्षाका अगाडि नै सोध्नुभयो ‘टी फर ? के हो भन् ?’ म छक्क परेँ । एक त मलाई ‘टी’ भनेको के हो नै थाहा छैन, त्यसमाथि पनि फ्रक लगाको ‘टी’का बारेमा म के जानौँ ? ‘इंग्लिस’लाई त ‘इंग्लिस्’भन्न नजानेर अंग्रेजी भन्ने मेरा लागि, यो त ७५ जिल्लाको नाम भन्नुभन्दा धेरै ठूलो कुरा हुन आयो । ‘टी फर टेलिभिजन सर’ बले बोल्यो । सरले खुसी हुँदै बलेतिर हेरे र आँखा तर्दै मतिर । अब अंग्रेजी पढाइ हुन थालेदेखि म प्रथम रहिरहन सक्दिनँ भन्ने मलाई लाग्न थालिसकेको थियो । सरले इसारा गरेपछि म आफ्नो ठाउँमा गई बसेँ । सरले खरीपाटीतिर देखाउँदै सोधे, ‘तिमीहरूलाई टेलिभिजन भनेको थाहा छ ?’, कक्षामा होहल्ला मच्चियो । टेलिभिजन भनेको के हो ? भनेर एकअर्कालाई सोध्नलाई होइन बरू सरले यो के सोधेको भनेर खासखुस गर्न । छत्र सरले घाँटीमा भएको खकार तानेर बोले, ‘हेर भाराभुरे हो, यो टेलिभिजन भनेको एउटा यस्तो भाँडो हो, जसले संसारभरका खबर सुनाउँछ, देखाउँछ । यो भाडाका अगाडि बसेर हे¥यो भने जम्मै दुनियाँभरीका, वहाँ राजाका दरबारदेखिका, पर हुँदो मान्छे नाँचेका, गाएका जुम्मै, सारा संसार देखाउँछ ।’ अरू पनि के के भन्दैथिए सर मैले केही सुनिनँ । मेरो मनमा टेलिभिजनको नक्सा कोरिन थाल्यो, सरले त खरीपाटीमा नक्सा बनाएनन् किनकी खरी फारू गरेर चलाउने मान्छे हुन्, हेडसर । मेरो मनमा यस्तो एउटा नक्सा बन्यो कि टेलिभिजन भनेको यस्तो एउटा बाँसको ढ्वाङ हो, जसको एउटा टोड्कोमा हामीले आँखा गाडेर हेर्ने हो र अर्को टोड्को चाहिँ राजाका दरबारतिर हुन्छ र त्यहाँ देख्न पाइन्छ । मेरो मनमा टेलिभिजनको नक्सा तयार भयो तर अचम्मको कुरा चाहिँ के भने, त्यत्रो बाँस छ चाहिँ कहाँ ? ‘तिमेरू चैनपुर बजार जाँदा याद गर्नु, जसको घरको छानोमा सेतो जुवा टाँगेको छ, त्यो घरमा टेलिभिजन छ’, छत्र सरले भने । यो भन्नुभन्दा अगाडि पनि केही भने होलान् तर मैले सुनिनँ । बेकारमा सुनिनछु ।

सधैँझैँ म स्कुलपछि बलेसँग पाङ्ग्रो खेल्दै घर फर्किएँ । बलेको घर हाम्रो घरबाट देखिँदैन, तर त्यति टाढा पनि त छैन । हाम्रो घरमाथिको मतानबाट ठूलो स्वरले बोलायो भने सुन्नचाहिँ सुनिन्छ । बलेका बा जिल्ला हुलाकका हुलाकी थिए, त्यही भएर बले चैनपुर बजार गइरहन्थ्यो र उसले टेलिभिजनका बारेमा चाल पाएको रहेछ । हेर्न त त्यसले पनि पाएको थिएन नै तर, सुन्नचाहिँ म भन्दा पहिला सुनेछ मोराले । तल खोल्सोबाट बले आफ्नो घरतिर जानलाई तेर्सो लाग्यो र म भारी मन गरेर मास्तिर उकालो लागेँ । मेरो मनस्थितिमा बाले के भन्नुहोला भन्ने कुरा हराइसकेको थियो र टेलिभिजन हेर्न जाने तीव्र इच्छा मात्र बाँकी थियो । घरमा पुगेँ, बा हुनुहुन्न रैछ, आमा मात्र हुनुहुन्थ्यो । राती खाना खाने बेलामा पनि बाले दिउँसोको घटनाका बारेमा केही नभनेकाले म ढुक्क भएँ, यो कुटाई खाने निहुँबाट मुक्तै भइयो ।

दिनहरू बिते, तल पिलुवा खोलामा कति धेरै पानी बगेर गयो, तर पनि मेरो मानसपटलबाट टेलिभिजनको चित्र बग्न सकेन । मैले सपनामा त्यही बाँसको ढ्वाङ नै देख्न थालेँ । नाँच्दै गाउँदै गरेका राजारानी नै देख्न थालेँ, तर यो सपनालाई वास्तविकतामा परिणत गर्नेतर्फ मैले केही गर्नै सकिनँ । एकपटक बलेसँग मेरो सल्लाह पनि भएकै हो, स्कुलबाट भागेर भए पनि एकदिन बिहानै चैनपुर जाम र बेलुकासम्म फर्किसक्नुपर्छ । तर, बले मानेन किनकी उसका बा बाटामा जतासुकै भेटिन सक्ने प्रबल सम्भावना थियो । मैले एक्लै जाने आँट नै गर्न सकिनँ । अरू थोकको त हैन तर, पिलुवा मास्तिरको उत्तिस घारीमा एउटा तरुनी केटी झुन्डिएर मरेकी अरे भन्थे, त्यसको डरलेचाहिँ मलाई आँट नै आउन दिएन ।

शनिबारको दिन, बिहानीपख, म घोसेमुन्टो लगाएर ओछ्यानमै पल्टिरहेको थिएँ । ब्रतबन्ध नगरेकाले मलाई चाँडै ंउठेर जप गर्नुपर्ने बाध्यता पनि त थिएन । बाले आएर मेरो डँडाल्नोमा एक ड्याम हान्नुभयो । म ज¥याकजुरूक्क उठ्न बाध्य गराइएँ । बाले ‘छिटो ओछ्यान मिलाएर तल आइज, हिँड्न ढिलो भइसक्यो’ भनेर फर्माइस राखेर तल ओर्लिनुभयो । म यसो ओछ्यान मिलाएजस्तो गरेर अलमलमा पर्दै, आँखा मिच्दै, ढिलो पाइला सार्दै, लोतेकान लिएर, लिस्नुबाट तल ओर्लिएँ । तल पिँढीमा दुई वटा धोक्रो तयार गरिएको रैछ, ठूलो र सानो । बाले ठूलो धोक्रोको नाम्लो टाउकामा बोकेर अघि लाग्नुभयो र मलाई ‘बाटैमा हगी मुती गर्दा हुन्छ, यो धोक्रो बोकेर छिटो पछ्या’ भन्नुभयो । मैले मान्नैपर्ने भयो । धोक्रो बोक्दा पो मैले चाल पाएँ यो त तोरी रैछ । सायद बाले मलाई बाजी हराएबापत तोरी बोकाएर अँधाई गरिरहनुभएको छ । बा र म बिहानीको मिरमिरे उज्यालोमा, मकै छर्नका लागि जोतेर ठिक्क पारिएको खेतको आलीको बाटो हुँदै, डडाल्नामा तोरीको धोक्रो बोकेर लाग्याँै उँदो, पिलुवातिर ।

हिजो राती गाउँमा हुँडार पसेछ र गोठमा बाँधेको राँगोको आन्द्राभुँडी झिकेर सबै खाइदिएछ । बिहानखेरी गाउँलेले चाल पाए, तर ढिलो भइसकेको थियो । हुँडारलाई खेदाउन त भ्याए तर, राँगो जोगाउन भने सकेनन् । त्यही हुँडारले मारेको राँगो एकाबिहानै पिलुवा खोला किनारको गाउँमा काटियो । त्यो राँगो थियो, तोरी पेल्ने कलको मालिक नेवारको । नेवारकोमा राँगो भोज भएकाले आज तोरी पेल्न बन्द । मलाई बडो थकान महसुस भयो । वैशाखका दिनमा फेरी त्यही तोरी जस्ताको तस्तै घरसम्मै पु¥याउनुपर्ने भयो भनेर म दुःख मन गरेर टोलाइरहेको थिएँ ।

‘आ… चैनपुर पुगेर भए पनि पेलेरै ल्याउनुपर्छ । त्यहाँसम्म बोकेर हिँड्नुसक्छस् ?’ बाको मुखारविन्दबाट चैनपुरको नाम सुन्नासाथ मेरा डँडाल्नामा पखेटा पलाएको महसुस भयो । म दुलाहा माग्न आएको बेला दुलही लजाएझैँ लजाएँछु क्यार, बाले मुस्कुराउँदै मतिर हेर्नुभयो । मैले बाको सुर बिग्रिनुभन्दा पहिले नै निधारमा नाम्लो लगाइहालेँ । बाले मेरो भारी बोकाइदिनुभयो । यो पटकचाहिँ म अघि लागेँ, बा मेरा पछिपछि । बाउछोरा दुवैजना बिहानीको दोस्रो प्रहरतिर लाग्यौ उँभो, चैनपुरतिर ।

चैनपुर बजार, अँखोराहरूको बजार, करूवाहरूको बजार, झर्के थालहरूको बजार, सिरूपाते खुकुरीहरूको बजार, काठका आलिसान घरहरूको बजार, पसलहरूको बजार, शख्खरहरूको बजार, ढुंगाले छाएको बाटोहरूको बजार तर, मैले आज कहीँ बजारहरू देखिरहेकै थिइनँ । म त केवल माथि घरका छानोहरूतर्फ हेरिरहेको थिएँ, सेतो जुवाको खोजीमा । पहिलो घर देखेँ, जसको छानोमा सेतो जुवा टाँगिएको थियो । मलाई बुरूक्क उफ्रिउँ झैँ भयो । ‘भुइँमा हेरेर हिँड्, लड्लास् !!’ भनेर बाले कराए पछि मात्र मैले आफ्नो डँडाल्नुमा बोकेको तोरीको भार महसुस भयो । मलाई कलसम्म पुग्न लागेको समय एकदमै लामो महसुस भयो । मैले भारी बिसाउने बित्तिकै ‘पिसाब गर्न जान्छु’ भन्ने बहानामा बाहिर बजारतिर निस्किहालेँ । झन्डै आधा दर्जन घरहरू मैले देखेँ, जसका छानामा सेता जुवा झुण्ड्याइएका थिए । अब त चैनपुर सेता जुवाहरूको बजार पनि भइसकेको रहेछ । मलाई यी घरभित्र पसिहालौँ, टेलिभिजनको ढ्वांग्रोमा आफ्ना आँखा गाडी हालौँ र हेरिहालौँ, राजाका दरबारका नाँचगान भन्ने भइरहेको थियो । पालो पर्खिएर तोरी पेलिसक्दा साँझ पर्न लागेको थियो । बाले मलाई पिनाको धोक्रो बोक्न लगाउनुभयो र आफूचाहिँ तेलको भारी बोकेर अघि लाग्नुभयो । मेरो मन एकातिर खुसी थियो कि मैले सेता जुवा त देख्न पाएँ । तर, एकातिर दुःखी पनि थिएँ कि मैले टेलिभिजन नै चाहिँ देख्न पाइनँ । म घोसेमुन्टो लगाएर हिँडिरहेको थिएँ । एउटा थान कपडाको दोकान अघि बा रोकिनुभयो र मलाई पनि भारी बिसाउन इसारा गर्नुभयो । मैले भारी बिसाएर हतार–हतार अलिक पर गएर घरको छानोमा हेरेँ । सेतो जुवा टाँगिएको थियो, मलाई खुसीले के गरौँ कसो गरौँ भयो । घरभित्रबाट आउँदै गरेकी मेरी नातेदार सानिमा देखी म झन् खुसी भएँ । मैले चाल पाइसकेको थिएँ कि आजको बास यहीँ हुनेछ र मेरो टेलिभिजनको ढ्वाँङ्ग्रोमा आँखा गाड्ने सपना पूरा हुनेछ ।

सानाबा चैनपुर बजारका ठूला थान कपडा व्यापारी थिए । चित्रलाल पौडेल भनेपछि चैनपुर त के मैले जान्ने सबै जिल्लाका मान्छेहरूले चिन्थे, सायद । चित्रलाल सानाबाले धेरै वर्ष पहिल्यै धरानबाट ढाकरमा नुन बोकेर ल्याउँदै गर्दा डाकुलाई भेटे अरे । त्यसपछि डाकुले नुनको ढाकरसहित सानाबालाई आफ्नो साथै लग्यो अरे ! ६ महिना डाकुहरूसँग मधेसतिर डुलेपछि उनले भरुवा चलाउन र मान्छेलाई लुट्न सबै सिके अरे ! डाका समूहले एकरात ठूलो लुट भेट्टाएछन् अरे र त्यही रात सानाबाले भरूवाले हानेर डाकाहरूलाई मारेर सबै लुटको धन आफैँसँग बोकेर चैनपुर फर्किएर धनी भइबसेका अरे ! सबै अरेका कुरा न हुन् को जानोस् सत्य के हो ?

खाना खाई सकेर हात धुन जुठाल्नामा पुगेका बेला मैले बालाई सानो स्वर र ठूलो हिम्मतमा ‘बा यो घरमा टेलिभिजन छ, एक खेप हेरौँन’ भनेँ । बाले ‘चुप अर्काको घरको के भन्लान् ? त्यही पनि क्या हो यो टिलिभ्यान भन्या ?’ भन्नुभयो । मलाई रोउँ रोउँ झैँ भयो तर, फेरि रोएर कुटाई खानु पनि त थिएन । मैले अँध्यारो मुख लगाएको देखेर बाले ‘फेरी अँध्यारो मुख नलगाहै, कुटाइ खालास् !!! पाहुना लाग्या बेला’ भन्नुभयो । बा जुठेल्नाबाट निस्किनुभयो, तर मेरो मनबाट टेलिभिजन हेर्ने चाहना निस्किनै सकेन ।

‘यो केटो साह्रै यो टिलिभ्यान हेर्छु भन्दै ठासठास ठुसठुस गर्दैछ हौ…। देखाउन मिल्ने चिज भा देखाइदिनुस्न ।’ मेरा बा आखिर मेरै बा हुन् । मेरो मनको कुरा बुझेर मेरा बाले मेरा लागि बोली दिएकै हुन् । मलाई मेरा बाका गोढा ढोगौँ ढोगौँ भयो । मेरा बा !!! सानाबाले अर्कोपट्टी फर्किएर पाइप सल्काएर सुनेको नसुनै गरेर पचाए । मेरा सानाबा मेरा सानाबा हैनन् । मलाई कुद्दै गएर सानाबालाई समातेर ‘बाले के भन्दै हुनुहुन्छ, सुन्नुस् र मान्नुस्’ भन्न मन लाग्यो, तर म केही गर्न सक्दिन थिएँ । मेरा आँखाका डिलमा बिझाएझैँ भयो । मैले आफ्ना औँलाहरूले आँखा पुछेँ । आँखाको रस गालातिर दलिएछ क्यार बाले मतिर हेर्नुभयो र ‘आइमाईजस्तो, पिन्चे’ भन्नुभयो । म बसेर घोसेमुन्टो लगाएर कसैले नदेख्ने गरी आँसु चुहाउन थालेँ र बा उठेर सानाबातिर जानुभयो ।

‘साना केटाले त्यो टिलीभ्यान कि क्या हो ? हेर्न रहर गर्दैछ हौ, मिल्छ भने देखाइदिनुनि एक खेप’ मैले आँखा उठाएर बातिर हेर्न सकिनँ तर, बोलेको भने सुनिरहेँ ।

‘त्यो त पल्ला कोठामा थन्क्याएको छ । चाबी पनि पो कता राखेको छ हौ । फेरी बिग्रिन्छ भनेर जतिसुकै बेला खोल्ने गरेको पो छैन त ।’
‘बिगार्दैन, साह्रै रहर गरेको छ, परैबाट देखाए पनि हुन्छ त्यसलाई ।’ बाले याचना नै गर्नुभयो, सायद ।

‘हैन बिहानै जाने भनेको हैन ? लु सुतुँ । मलाई त निद्राले पो गाँजो त ।’ सानाबा पाइप निभाएर आफ्ना कोठातिर लम्किए ।

मेरो मुटु भक्कानिएर आयो तर, म कंकाल शब्द गरी रून सकिनँ । बाले आएर मेरो घोसे परेको घाँटीमा माथिबाट एक थप्पड हान्नुभयो र ओछ्यानमा गएर पल्टनुभयो । मेरो जीवनमा म पहिलोपटक त्यो रात निदाउन सकिनँ । मेरो मनमा धेरै विचारहरू आए । मलाई यो घर जलाइदिउँ भन्ने लाग्यो, सानाबालाई ढुंगाले हानेर मारिदिउँ भन्ने लाग्यो, ताला लगाएको त्यो कोठाको दैलो फोडीदिउँ भन्ने लाग्यो, अँगेनोमा गएर मुतिदिउँ भन्ने लाग्यो, सिरानीमुनि हगीदिउँ भन्ने लाग्यो । मलाई ती सबै काम गरौँ भन्ने लाग्यो जुन कामले यी पापी सानाबाको बिगार होस् तर, विवश, लाचार म सानो, मसिनो फुच्चेलाई केबल लाग्न मात्र सक्यो ।

त्यसघरबाट म र बा बिहानको मिरमिर उज्यालोभन्दा पहिले नै हिँड्यौं । मैले रातभरीमा ठूलो भएर, धनी भएर, धेरै पैसा कमाएर, बजारमा काठको घर बनाएर, पाइप पिउँदै टेलिभिजनको ढ्वाङग्रोबाट राजाको दरबारको नाँच हेर्ने निर्णय गरेको थिएँ । मेरा सुन्निएका आँखाले अलिक पर पुगेर त्यस घरलाई हेरेर अब आइन्दा जीवनभर त्यस घरमा नआउने प्रण गरे । एक्कासि मेरो घाँटी भरिएर आयो । मैले त्यसघरतर्फ फर्किएर बेस्कन थुकेँ । मैले टेलिभिजन हेर्न नपाएको रिस थुकेपछि पोखियो क्यारे मलाई अलिक हलुंगो महसुस भयो । त्यसदिन भारी मन, सुन्निएका आँखा, दृढ संकल्प, बलिया गोढा लिएर त्यसघरबाट निस्किएर हिँडेको म, आजसम्म पनि त्यसघरमा फर्किएर गएको छैन र जाने पनि छैन ।

प्रतिक्रिया