स्रोत नखुलेको रकमसहित २ जना पक्राउ

रौतहट । जिल्लाको गौर नगरपालिका–१ बाट प्रहरीले स्रोत नखुलेको ४ लाख नेपाली रुपैयाँसहित १ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटी गएको गस्ती टोलीले वडा–१ स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रममा भारतबाट नेपालमा आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा भारत बिहार जिल्ला सीतामढी थाना बैरगनिया–११ बस्ने कृष्ण कुमारको १८ वर्षीय छोरा सत्यम भन्ने अनिकेत राजलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरिएको हो ।

भारत बैरगनियाबाट पैदल नेपालमा आउँदै गरेको अनिकेतलाई शंकाको आधारमा चेकजाँच गर्दा दाहिने पट्टीको पिँडुलामा लुकाएर राखेको ५ सयको नोट नेपाली रुपैयाँ ५० हजार र १ हजारको नेपाली नोट १ लाख ५० हजार तथा बायापट्टीको पेडुलामा लुकाएर राखेको ५०० को ५० हजार र १ हजारको १ लाख ५० हजार गरी ४ लाख रुपैयाँ गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएका छन् ।

फेला परेको रकमको स्रोत खुलाउनभन्दा स्रोत खुलाउन नसकेकोले अनिकेतलाई पक्राउ गरी कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताएका छन् ।

यसअघि भदौ १२ गतेका दिन गौर नगरपालिका–२ बाट सशस्त्र प्रहरी बल नेपालको टोलीले स्रोत नखुलेको ४ लाख नेपाली रुपैयाँसहित भारत बिहार जिल्ला सीतामढी ग्राम पञ्चायत भटौलिया ५ बेलगन्ज बस्ने रजाक मियाको छोरा ६१ वर्षीय इस्माइल मियालाइ पक्राउ गरेको थियो ।

प्रतिक्रिया