कांग्रेसद्वारा हेटौँडाको कार्यपालिका बैठक बहिष्कार, कर समायोजन अन्योलमा

हेटौँडा । उपमेयरसहित नेपाली काँग्रेसबाट हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा प्रतिनिधित्व गर्ने सदस्यहरूले बिहीबारका लागि बोलाइएको कार्यपालिका बैठक बहिष्कार गरेका छन् । यससँगै हेटौँडा उपमहानगरपालिकामा चालु आर्थिक वर्षका लागि बढाइएको कर समायोजन गर्ने विषय अन्योलमा परेको छ ।
व्यवसायीहरूका माग सम्बोधन गर्नका लागि विशेष नगरसभाको मिति तय गर्न बिहीबार बिहान कार्यपालिका बैठक डाकिएको थियो । बैठकमा उपमेयर राजेश बानियाँ, नेकपा एकीकृत समाजवादीका १ वडाध्यक्षसहित कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरू अनुपस्थित थिए ।

उपमहानगरपालिकाले अवैज्ञानिक ढंगबाट कर बढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएपछि कर समायोजनका लागि विशेष नगरसभा राख्ने सहमतिका आन्दोलन स्थगित भएको थियो । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा उपमहानगरका व्यवसायीहरूले करवृद्धिको विरोध गर्दै साउन ३२ गते नगरप्रमुख मीनाकुमारी लामालाई चाबी बुझाएका थिए । त्यस लगत्तै उपमहानगरपालिकाले व्यवसायीहरूसँग ८ बुँदे सहमति गर्दै विशेष नगरसभाबाट कर समायोजन गर्ने उल्लेख गरेको थियो ।

नेपाली कांग्रेसका १ वडाअध्यक्षले पार्टीभित्र कर समायोजन र यसले निम्त्याउन सक्ने कानुनी व्यवधानका विषयमा छलफल जारी रहेकाले आफूहरू बिहीबारको बैठकमा अनुपस्थित रहेको जानकारी दिए । आफैँले नगरसभाबाट पारित गरेको करको दर घटाउन विशेष नगरसभामा जाँदा निम्तने समस्याका विषयमा कानुनी परामर्श भइरहेको उनको भनाइ छ ।

नेकपा एमालेका तर्फबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने सदस्यहरूले विशेष नगरसभा बोलाउने विषयमा नगरप्रमुख लामा गम्भीर नभएको आरोप लगाएका छन् । वडा–४ का अध्यक्ष नवीन सिग्देलले कांग्रेस अनुपस्थित हुँदा पनि बहुमत पुग्दापुग्दै नगरप्रमुख लामाले एकपक्षीय ढंगले बैठक स्थगित गरेको बताए । आफूहरू संवैधानिक रूपमै विशेष नगरसभाको मागमा अडिग रहेको उनको भनाइ छ । व्यवसायीहरूले करको बिरोधमा आन्दोलन थालेपछि एमालेबाट नगरसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले लिखित रूपमा विशेष नगरसभाको माग गरेका थिए ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया