सबै प्रदेशमा कम्तिमा १–१ वटा सरकारी मेडिकल कलेज स्थापना गर्ने घोषणा गरिएको एक दशक हुन लागेको छ । अभियान्ता डा. गोविन्द केसीले अघि बढाएको आन्दोलनका माग संवोधन गर्ने क्रममा सरकारले यो घोषणा गरेको हो । तर सहमतिप्रति सरकार इमानदार बन्न नसकेका कारण अहिले पनि एमबिबिएस तथा एमडी अध्ययनका लागि धेरै विद्यार्थीहरू विदेश जाने सिलसिला जारी छ । कैलालीको गेटामा मेडिकल कलेज स्थापनाका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेर भवन, उपकरणलगायत सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गरिएको ३ वर्ष बितिसकेको छ । तर, अनेक बहानामा मेडिकल कलेज सञ्चालनको कार्यक्रम पछि धकेलिएको छ ।
निकै ढिलाइ गरी गत साउनदेखि अस्पताल सेवा सञ्चालनमा ल्याइएको छ । तर, बिरामीको अभावका कारण अस्पतालका डाक्टर तथा कर्मचारीहरू घाम तापेर बसिरहेको समाचार मिडियामा आउन थालेका छन् । ब्यापक दबाबका कारण सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेज निकट भविष्यमै सञ्चालनमा आउने निश्चित छ । तर, लुम्बिनी प्रदेशमा मेडिकल कलेज कहिलेदेखि सञ्चालनामा आउला ? यसै भन्न सकिने अवस्था छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैतमा तामझामका साथ लुम्बिनी मेडिकल कलेजको कार्यालय उद्घाटन गरेका थिए । १४ अर्ब रुपैयाँ बजेट स्टमेट गरी अस्पताल निर्माणका लागि जग्गाको समेत व्यवस्था गरिएको थियो । तर, अहिलेसम्म भवन निर्माणको काम अघि बढेको छैन ।
एकातिर सरकारको वार्षिक बजेटमा लुम्बिनी मेडिकल कलेजका लागि बजेट विनियोजन गर्न छाडिएको छ, अर्कातिर सरकारले साविकको बुटवल अञ्चल अस्पताललाई स्तरोन्नति गरी १ हजार २०० शैयाको पु¥याउने योजना अघि बढाएको छ । यसका लागि ६ अर्ब रुपैया“ खर्च गरी १२ तले भवन निर्माणको तयारी गरिएको छ । यसै साता अर्थमन्त्री विष्णु पौडेलले भवनको शिलान्यास गरेका छन् । बुटबल अञ्चल अस्पताललाई ६ अर्ब रुपैयाँ लागतमा स्तरोन्नति गरी १ हजार २ सय शैयाको लुम्बिनी प्रदेश अस्पताल बनाउने योजना अघि बढेसँगै लुम्बिनी मेडिकल कलेज निर्माण योजनाको सान्दर्भीकता माथि प्रश्न उठ्नु स्वभाविकै हो । कैलालीको गेटा अस्पतालले बिरामी नपाइरहेको नजीर बुटवलमा पनि आकर्षित हुनसक्छ । एकै ठाउँमा २ वटा ठूला सरकारी अस्पताल सञ्चालनका लागि आर्थिक भार थेग्नसक्ने अवस्थामा मुलुक छैन । अर्थमन्त्री पौडेलले गत साता शिलान्यास गरेको बुटबल अस्पतालमै मेडिकल कलेज सञ्चालन गर्ने गरी योजना बनाउनु उपयुक्त हुन्छ ।
भौतिक पूर्वाधारका संरचना निर्माण गर्दा सुदूर भविष्यसम्मलाई आँकलन गर्न सकिएन भने लगानी खेर जान्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । किनकी सरकारले विगतमा पहाडी क्षेत्रमा निर्माण गरेका विद्यालय भवन, तथा स्वास्थ्यचौकी भवन, विद्युतीकरण खानेपानीका धाराहरू अहिले बसाइँसराइका कारण खेर गएका छन् । अहिले अर्बौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका अस्पताल भवनहरू भोलि यसरी नै खेर नजाउन् भन्नेतर्फ सरकार सचेत हुनुपर्छ । देशकै मध्यभागमा रहेको चितवनको भरतपुरमा ठुलाठुला अस्पताल तथा मेडिकल कलेजहरू सञ्चालनमा छन् । राजमार्गको स्तरोन्नतिको काम सकिएपछि बुटवलबाट भरतपुरसम्मको दुरी करिव डेढ घण्टाको हो । त्यसमा पनि दाउन्ने क्षेत्रमा सुरुङ मार्ग निर्माण भएपछि जम्मा १ घण्टाको हो ।
पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम पनि अघि बढिसकेको छ । यसैगरी कालिगण्डकी कोरिडोर सडक तथा मदन भण्डारी लोकमार्गको निर्माण पनि सम्पन्न हुने चरणमा रहेको छ । यसैगरी लुम्बिनी प्रदेशको राजधानीका रूपमा दाङको भालुवाङ क्षेत्रमा नयाँ सहर निर्माण हुँदै छ । प्रदेश राजधानी सहर भएकोले भालुवाङमा पनि सुविधा सम्पन्न अस्पताल बनाउनै पर्ने हुन्छ । त्यसैले भविष्यमा कहाँका बिरामीले बुटबलमा ठूला अस्पताल चल्लान् ? भन्ने प्रश्नतर्फ अहिलेदेखि नै ध्यान दिनु जरुरी छ । सकिन्छ भने तिलोत्तमामा प्रस्ताव गरिएको लुम्बिनी मेडिकल कलेज अहिले नै भालुवाङमा स्थानान्तरण गर्नु उत्तम हुन्छ ।
प्रतिक्रिया