जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको शिक्षामा भएको विकृति तथा विसंगतिको अन्त्य गर्नका लागि सरकारले शिक्षा नीति बनाउन लागेको बताएका छन् ।
मुख्यमन्त्री सिंहले मधेस प्रदेशकै सबैभन्दा पुरानो याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय जनकपुरधाममा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको ‘याज्ञवल्क्य सदन’ छात्रावासको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले शिक्षा नीतिको निर्माण गरेर प्रदेशमा योग्य एवं सक्षम नागरिक उत्पादन गर्ने गरी सरकार अगाडि बढ्न चाहेको बताउँदै यसका लागि शिक्षामा गुणात्मक सुधारको खाँचो भएको बताए ।
मुख्यमन्त्री सिंहले मधेस प्रदेशको शिक्षाको स्तर माथि नउठेसम्म प्रदेशको विकास सम्भव नभएको बताउँदै माध्यमिक शिक्षा प्रदेश सरकारमा नभए पनि माध्यमिक तहको शिक्षामा सुधारका लागि सरकारले सबै प्रकारको सहयोग एवं लगानी गरेको र गरिरहने बताए । उनले मधेस प्रदेशको केही जिल्लाहरूमा नमुना शैक्षिक पार्कको निर्माण गर्नका प्रदेश सरकारको चालु आर्थिक वर्षमा कार्यक्रम नै ल्याएको बताउँदै प्रदेशकै ऐतिहासिक विद्यालयको रूपमा रहेको ज्ञानकूपमा नमुना शैक्षिक पार्क निर्माण गर्न चाहेको बताए ।
विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विसं. १८८५ मा ज्ञानकूप संस्कृत माध्यमिक विद्यालय आवासीय विद्यालयको रूपमा परिणत भएको बताउँदै अहिले विद्यालयमा २ हजार ५०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको बताए । उनले प्रदेश सरकारको सहयोगमा विद्यालय परिसरमा निर्माण भएको खेलकुद मैदानको पूर्णता दिनका लागि आग्रह गर्दै अहिलेको सम्पूर्ण छात्रावासलाई विस्थापित गरेर नयाँ छात्राबासको निर्माण आवश्यक भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका–८ का वडाध्यक्ष दिनेशकुमार सिंहले नमुना विद्यालयको रूपमा रहेको ऐतिहासिक विद्यालयको विकासमा थप लगानी गर्नका लागि प्रदेश सरकारसँग माग गरे ।
प्रतिक्रिया