वडाध्यक्ष मृत्यु प्रकरणमा मलाई फसाउन खोजियो : शिक्षक झा

जनकपुरधाम । रामगोपालपुर–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्यु प्रकरणमा आफूलाई फसाउन खोजिएको एक शिक्षकले दाबी गरेका छन् । उनले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो सो घटनामा कुनै किसिमको संलग्नता नरहेको र आफूलाई फसाउने गरी प्रचारबाजी गरिएको दाबी गरे ।

रामगोपालपुर–२ का वडाध्यक्ष यादवको गत भदौ ९ गते मोटरसाइकल दुर्घटनामा भई मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । सुरुमा यादवको मृत्यु दुर्घटनाबाटै भएको भनिए पनि पछि हत्या गरिएको आशंका प्रहरीले गरेपछि यो घटना तातिएको थियो । घटना भएको दिन शिक्षक झा पनि मृतक यादवसँगै रहेकाले वडाध्यक्ष यादवको हत्यामा उनको संलग्नता हुन सक्ने भन्दै माओवादी केन्द्रका स्थानीय नेताहरूले आरोप लगाएका थिए ।

सो आरोपको खण्डन गर्दै शिक्षक झाले वडाध्यक्ष यादव आफ्नो घनिष्ठ मित्र रहेको र घटनाको पूरै दिन उनीसँगै रहेको स्वीकार गरेका छन् । उनले भने ‘म र मुकेश घनिष्ठ मित्र हौँ, त्यो दिन एक होटेलमा दिनभरी बियर खाएँ तर राति ११ बजे आफू घर फर्किसकेपछि मुकेश कहाँ गयो थाहा भएन ।’ मुकेशको मृत्यु भएको विषयमा घटना भएको भोलिपल्ट आफूलाई रामगोपालपुर–१ मा रहेको उनले पढाउने विद्यालय श्री उच्च मावि बसपीट्टी वसन्तपुरमा पुगिसकेपछि मात्रै थाहा पाएको उनले बताए ।

तर, माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्यहरूले पुरानो रिसिबी साध्ने उद्देश्यले बिनाअनुसन्धान तथा बिनाप्रमाण फसाउन खोजेको शिक्षक झाले दावी गरेका छन् ।

घटनाको सिआइबीबाट अनुसन्धान गर्न माग

विभिन्न दलका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युबारे छानबिनका लागि सहयोग गर्न माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरूले अध्यक्ष प्रचण्डलाई मंगलबार बिहान सामूहिक रूपमा भेटेर ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन माग गरेका हुन् ।
वडा अध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका–१२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो ।

भदौ ८ गते साँझ केही शंकास्पद व्यक्तिहरूले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएको जस्तो नदेखिएको, पोस्टमार्टम रिपोर्टबाट टाउको र छातीमा चोट देखिएको, टाउको र छातीमा गह्रुँगो वस्तुले प्रहार भएको पाइएको, मोटरसाइकलको हेल्मेटमा केही क्षति नभएको र हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा भेटिएको आदि कारणले दुर्घटना नभई हत्या हुनसक्ने उनीहरूको भनाइ छ ।

शंकास्पद व्यक्तिलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको भन्दै उनीहरूले केन्द्रीय अनुसन्धान ब्युरोबाटै छानबिन हुनुपर्ने माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले सो घटनालाई आफूले गम्भीर रूपमा लिएको बताए । तराई मधेस क्षेत्रमा रहेको सुरक्षा चुनौतीबारे जानकार रहेको भन्दै प्रचण्डले माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षको मृत्यु र मधेसमा भइरहेका हत्या हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

सर्वदलीय डेलिगेसनमा माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल, नेपाली कांग्रेसका नेता महेन्द्र कुमार राय, जसपा नेपालका नेता डा.सुरेन्द्र कुमार यादव, माओवादी केन्द्रका नेता भरत साह र मृतकका परिवारका सदस्य सहभागी थिए ।

प्रतिक्रिया