काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । फिल्मले शनिबारबाट देशको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका ३ वटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्युएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा ५१औँ दिन पार गरेको हो ।
निर्माण युनिटले शनिबार साँझ एक कार्यक्रम आयोजना गर्दै ५१औँ दिनमा केकसमेत काटेको छ । कार्यक्रममा फिल्मका मुख्य कलाकार दयाहाङ राई, अभिनेत्री मिरुना मगरलगायत फिल्म युनिट र रंग पत्रकारको सहभागिता थियो ।
२८ असारबाट प्रदर्शनमा आएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ । फिल्मले ५१औँ दिनसम्म ६ करोडको व्यापार गरेको कार्यक्रममा निर्माण युनिटले जानकारी गराएको छ । फिल्म २ करोडको लागतमा निर्माण भएको हो । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
प्रतिक्रिया