काठमाडौँ । नेपाली फिल्म ‘होस्टेल–३’ बाट पूर्व मिस सुप्रानेसनल नेपाल समा पराजुली डेब्यु गर्ने भएकी छिन् । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै समा अनुबन्धित भएकोबारे जानकारी दिएको हो ।
डेन्टल नर्स समेत रहेकी समा सन् २०२३ की मिस सुप्रानेसनलकी विजेता हुन् । साथै उनले सन् २०२२ मा द मिस ग्लब जर्मनीको टाइटल समेत जितेकी थिइन् । समाले होस्टेलजस्तो चर्चित श्रृंखलामा जोडिदा पाउँदा खुसी लागेको बताएकी छिन् ।
‘होस्टेलजस्तो चर्चित सिरिजमा एक अभिनेत्रीको रुपमा मेरो यात्रा सुरु गर्दैछु भन्ने घोषणा गर्न पाउँदा उत्साहित छु । मलाई विश्वास गर्नुभएकोमा धन्यवाद । नेपाली चलचित्र उद्योगमा पाइला राख्न पाउँदा रोमाञ्चित छु। यो नयाँ साहसिक कार्यमा तपाईंहरूको सहयोगको अपेक्षा गर्दछु,’उनले फेसबुकमा लेखेकी छिन् ।
‘होस्टेल ३’ बाट टिकटकर ‘कुल ब्वाइ’ पारस बम, केदार घिमिरे ‘माग्ने बुढा’ का छोरा आशिष घिमिरे, रिहान गिरी, सिम्रन पन्तले पनि डेब्यु गर्देछन् । ‘होस्टेल’ चलचित्र शृंखला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ ।
‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन् । विसं २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटन्र्स बक्स अफिसमा सफल फिल्म हो ।
प्रतिक्रिया