हेटौंडा । हेटौंडा अस्पतालको स्वास्थ्यकर्मी भर्ना छनोटमा सफल भएर पनि नियुक्तिपत्र नपाएका परीक्षार्थीहरुले बिहीबारदेखि नियुक्ति पाउने भएका छन् । छनोट प्रक्रिया त्रुटिपूर्ण भएको विषयमा छानबिन गर्न गठित समितिले ‘कुनै किसिमको अनियमितता नभएको’ निष्कर्ष निकालेसँगै अस्पतालले बिहीबारदेखि नियुक्तिपत्र दिने तयारी गरेको हो ।
बुधबार साँझ एक सूचना जारी गर्दै अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरुलाई ७ दिनभित्र अस्पतालमा करार सम्झौता मार्फत नियुक्ती लिनको लागि सम्पर्क राख्न भनेको छ । यसअघि छनोट प्रक्रियाका बारेमा उजुरी परेपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाले संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । त्यस लगत्तै अस्पतालले भदौ ५ गतेअघि नै दिइनुपर्ने सबै नियुक्ती प्रक्रिया छानबिन समितिको प्रतिवेदन नआउँदासम्मका लागि स्थगित गरेको थियो । छानबिन समितिको प्रतिवेदन आएसँगै अब बिहीबारदेखि नै सम्पर्कमा आउने सफल उम्मेदवारहरुलाई क्रमशः नियुक्ति दिइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
साउन १ गते प्रकाशित विज्ञापनमा दरखास्त दिने अन्तिम मिति साउन १५ सम्म तोकिएकोमा त्यसपछि पनि थप उम्मेदवारलाई भर्ना प्रक्रियामा सामेल गरिएको तथा कतिपय परीक्षार्थी स्वयं छनौट प्रक्रियामा संलग्न भएको भन्दै उजुरी परेको थियो । छानबिन समितिको निष्कर्षका बारेमा जानकारी गराउँदै संयोजक डा. गेलालले भने, ‘समितिको छानबिनका क्रममा हामीले सबै कागजातहरु हे¥यौँ । उजुरीमा भनिएजस्तो कुनै अनियमितता फेला परेन ।’
अस्पतालले गत साउन १ गतेदेखि लागू हुने गरी करार सेवामा रहेका १३० जना कर्मचारीको करार सम्झौता अन्त्य गरेसँगै सोही दिन १४३ जना नयाँ कर्मचारीको भर्ना प्रक्रियाका लागि विज्ञापन गरेको थियो । साउन २३ गतेदेखि २८ गतेसम्म लिइएको अन्तरवार्ताबाट सफल पाचौँदेखि नवौँ तहसम्म १३६ जना उम्मेदवारको सूची साउन ३१ गते सार्वजनिक गरिएको थियो ।
भदौ ५ गतेभित्र नियुक्ती लिइसक्न सूचना गरेपनि छानबिनको कारण देखाउँदै नियुक्तिमा ढिलाइ भएपछि सफल उम्मेदवारहरुले मंगलबार बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय बाहिर नाराबाजी गरेका थिए । कतिपय परीक्षार्थीहरुले अस्पतालमा नाम निस्केपछि आफूले काम गरिरहेको ठाउँ छाडेर आएको तर अस्पतालले नियुक्ती नदिँदा अन्यौलमा परेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
मकवानपुर
प्रतिक्रिया