पिपराको वडा कार्यालयमा तालाबन्दी

पर्सा । पर्साको धोबिनी गाउँपालिका–१ घोडदौर पिपराको वडा कार्यालयमा ताला बन्दी भएको छ ।वडा–१ का वडाअध्यक्ष बन्धु साह तेली र वडा सचिव अशोक राउत कुर्मीको आपसी विवादका कारण पिपरामा रहेको वडा कार्यालयमा आइतबारदेखि बन्द गरी घौडपिपराका स्थानीयलाई दुःख दिने काम गरिरहेका छन् । वडा अध्यक्ष तेली र वडा सचिव कुर्मीको आन्तरिक विवादका कारण सो कार्यालयमा ताला बनाइएको हो । आपसमा जुधेर विवाद गरी वडा कार्यालयमा ताला बन्द गरी जनतालाई बीचमा पिसने काम गरिरहेका छन् ।

आफ्नो काम लिएर सेवाग्राहीहरू वडा कार्यालयमा जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, जग्गा सिफारिसलगायत कुनै सिफारिस गराउन जाँदा वडा कार्यालयमा ताला बन्द रहेकोले सेवाग्राहीहरू फर्केर आउन बाध्य भएका छन् । वडाअध्यक्ष र वडासचिव आपसमा जुधेकोले यो दुबै जनाले गर्दा स्थानीय सेवाग्राहीहरू मर्का परेका छन् ।

वडाअध्यक्ष र वडासचिव कार्यालयमा पहिलादेखि लै कहिलेकाहीँ मात्रै आउथे । आइतबारदेखि भने कार्यालय बन्दरहेकोले सेवाग्राहीको कामकाज थप रहेको स्थानीयको गुनासो रहेको छ । वडा कार्यालयमा ताला लगाइएको बारेमा वडाअध्यक्ष बन्धु साह तेलीले भने, ‘वडा सचिव कुर्मीले वडाको काम नगर्ने आफू कार्यालय आउँदा सेवाग्राहीले सचिवको कारण काम नभएको भन्दै गुनासो गर्ने गरेका थिए ।’ वडा सचिव कुर्मीसँग आफ्नो बोलचाल नरहेको पनी उनले बताए ।

वडा कार्यालयमा ताला बन्दको सम्बन्धमा वडा सचिव अशोक राउत कुर्मीले भने, ‘आफू कार्यालयमा प्रत्येक दिन आए पनि वडा अध्यक्ष तेलीले विभिन्न बहाना बनाएर हेप्ने काम गर्थे । यस्तै कार्यालयमा बसेर काम गर्ने कुनै वातावरण नरहेको र खाने पानीको समेत समस्या हुँदा कुनै वास्ता भएन ।’

यसको सम्बन्धमा गाउँपालिका अध्यक्ष मदन चौहानले भने, ‘वडा–१ पिपरा वडा कार्यालयमा तालाबन्दीको जानकारी आएको छ । तर यसमा दुबै जनाको कमीकमजोरी छ । म यस विषयमा लागेको छु दुबै जनालाई राखेर समस्याको समधान गरी वडा कार्यालयमा लागेको ताला खोल्न लगाएर सञ्चालनमा ल्याई सेवाग्राहीको कामकाज गर्न लगाउनेछु ।’

प्रतिक्रिया