केरला । मलयालम फिल्म उद्योगबाट बाहिर आएका यौन उत्पीडन र शोषणका घटना रोकिने संकेत देखिएको छैन । हालै धेरै अभिनेत्रीहरूले मलयालम सिनेमाका वरिष्ठ कलाकारहरूमाथि उत्पीडनको आरोप लगाएका थिए ।
यसैबीच अब अभिनेत्री रेवती सम्पथले वरिष्ठ मलयाली अभिनेता सिद्दिकीविरुद्ध बलात्कारको मुद्दा दायर गरेकी छन् । प्रहरीले गैरजमानती कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । मंगलबार अभिनेत्री सम्पथले अभिनेता सिद्दिकीविरुद्ध त्रिभान्दर संग्रहालय प्रहरीचौकीमा उजुरी दिएकी थिइन् । मलयालम फिल्म उद्योगमा हुने यौन दुव्र्यवहारका घटनाहरूको छानबिन गर्न गठन गरिएको एसआइटी (विशेष अनुसन्धान टोली)ले यो मुद्दाको अनुसन्धान गर्नेछ । अभिनेत्री रेवती सम्पथले आफ्नो उजुरीमा ८ वर्षअघि २०१६ मा सिद्दिकीले फिल्मको बारेमा कुरा गर्न मस्कट होटलमा बोलाएर यौन उत्पीडन गरेको बताएकी छन् ।
लिखित उजुरी गर्नुअघि रेवती सम्पथले सिद्दिकीमाथि शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन् । आरोपपछि सिद्दिकीले प्रहरीसमक्ष उजुरी दिएका थिए र आफ्नो छविलाई ध्वस्त पार्न आफूमाथि गम्भीर आरोप लगाइएको बताएका थिए ।
उनले सन् २०१६ मा रेवती सम्पथलाई आमाबुवाको उपस्थितिमा भेटेको उजुरीमा उल्लेख गरेका थिए । वरिष्ठ अभिनेता सिद्दिकी मलयालम चलचित्र कलाकारहरूको संघको महासचिव थिए । सन् २०१९ मा मलयालम सिनेमामा महिला कलाकारहरूको लागि हेमा समिति गठन गरिएको थियो । १९ अगस्टमा हेमा समितिले केरला सरकारलाई २३३ पृष्ठको प्रतिवेदन बुझाएको थियो, जसमा धेरै ठुला कलाकारहरूबाट उत्पीडन भएको उल्लेख छ ।
रिपोर्ट आए लगत्तै वरिष्ठ अभिनेता सिद्दिकीले पत्रकार सम्मेलन गरी रिपोर्टमा गरिएको दाबीलाई अस्वीकार गरेका छन् । तर, त्यसलगत्तै अभिनेत्री रेवती सम्पथले उनीमाथि यौन उत्पीडनको आरोप लगाएपछि उनले संघको महासचिव पदबाट राजीनामा दिएका थिए ।
यो मात्र होइन मलयालम फिल्म उद्योग ‘मि टु अभियान’ले तरंगित बनेको छ । हालसम्म १७ वटा यौन दुव्र्यवहारका मुद्दा दर्ता भएका छन् । आरोपहरूकै बीचमा मलयालम चलचित्र कलाकार संघ ‘अम्मा’ पनि विघटन गरिएको छ । प्रहरीले आरोपका सम्बन्धमा मलयालम फिल्म उद्योगका कैयौँ फिल्म स्टार र फिल्म निर्माताहरूसँग सोधपुछ गर्न सक्ने देखिएको छ । यौन उत्पीडनको आरोपको शृंखलामा नयाँ आरोप फिल्म अभिनेत्री सोनिया मल्हारले लगाएकी छन् । मल्हारले सन् २०१३ मा फिल्मको सेटमा आफूमाथि दुव्र्यवहार गरेको भन्दै केरला सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीसमक्ष आफ्नो उजुरी दिएकी छन् ।
केरला सरकारले मलिउडमा यौन दुव्र्यवहारको आरोपको छानबिन गर्न यो विशेष अनुसन्धान टोली गठन गरेको हो । सोनिया मल्हारअघि चलचित्र अभिनेत्री मीनु मुनीरले पनि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । मीनु मुनीरले अहिले आफूलाई धम्कीपूर्ण सन्देशहरू आइरहेको दाबी गरेकी थिइन् । यो जानकारी मीनुले सामाजिक सञ्जालमा दिएकी हुन् । विशेष अनुसन्धान टोलीले छिट्टै मीनु मुनिरको पनि बयान लिन सक्ने बताइएको छ ।
प्रतिक्रिया