पोखरामा ‘वर एन्ड वधु’को प्रिमियर

काठमाडौँ । शुक्रबारदेखि रिलिज हुने फिल्म ‘वर एन्ड वधु’को मोफसल प्रिमियर पोखरामा सम्पन्न गरिएको छ । पोखराको मिडटाउन हलमा मंगलबार बेलुकी आयोजित प्रिमियर कार्यक्रममा फिल्मका कलाकारहरू सहभागी भए । प्रिमियरमा सहभागी हुन निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की पोखरा पुगेका थिए ।

प्रिमियरबाट फिल्मलाई राम्रा प्रतिक्रिया प्राप्त भएका छन् । मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रिमियरमा पत्रकार, विभिन्न क्षेत्रका व्यक्ति सहभागी थिए ।
निर्देशक चाम्सले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएको बताउँदै दर्शकले पनि यो फिल्मलाई मन पराउनेमा आफू विश्वस्त रहेको जानकारी दिए । रोमान्टिक कमेडी जनराको यो फिल्मको प्रिमियर आज ललितपुरको लाबिम मलमा पनि हुँदै छ ।

लाबिम मलमा ‘रेड कार्पेट मिरर वाक प्रिमियर’को आयोजना गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ । नेपालमै पहिलोपटक ‘मिरर वाक प्रिमियर’ आयोजना गर्न लागेको निर्माण पक्षले उपस्थित अतिथिहरूले नयाँ शैलीको प्रिमियरको अनुभूति गर्न पाउने विश्वास लिएको छ । शुक्रबार रिलिज हुने फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ । सो फिल्मको छायांकन नेपालका साथै देशबाहिर रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।

प्रतिक्रिया