हेटौँडा अस्पतालमा छनौट भएर पनि नियुक्ती नपाएपछि मुख्यमन्त्री कार्यालयमा नाराबाजी

हेटौँडा । हेटौँडा अस्पतालले विभिन्न तहका लागि खुलाएको विज्ञापनको छनौट प्रक्रियामा सफल भएर पनि नियुक्तीमा ढिलाइ भएको भन्दै सफल उम्मेद्वारहरूले बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा नाराबाजी गरेका छन् । अस्पतालले भदौ ५ गतेभित्र करार सम्झौता गरिसक्न सूचना जारी गरेर एकसाता बितिसक्दा पनि नियुक्ती नपाएपछि आक्रोशित उनीहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई नियुक्ती प्रक्रियालाई टुंगोमा पुर्याउन दबाबस्वरूप नाराबाजी गरेका हुन् ।

अस्पतालको कर्मचारी छनौट प्रक्रियामा प्रश्न उठाउँदै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले छानबिन सुरु गरेपछि छनौट भएका उम्मेद्वारहरूको नियुक्ती प्रक्रिया अन्यौलमा परेको हो । अस्पतालले करार सेवामा रहेका १३० जना कर्मचारीको सेवा गत १ साउनदेखि लागू हुनेगरी अन्त्य गरेसँगै सोही दिन १४३ जना नयाँ कर्मचारीको भर्ना प्रक्रियाका लागि विज्ञापन गरेको थियो । २३ साउनदेखि २८ गतेसम्म लिइएको अन्तर्वार्ताबाट सफल पाँचौँदेखि नवौँ तहसम्म १३६ जना उम्मेद्वारको सूची साउन ३१ गते सार्वजनिक गरिएको थियो । अस्पतालले जारी गरेको सूचनामा सफल उम्मेद्वारहरूलाई भदौ ५ गतेभित्र करार सम्झौतासहित नियुक्ति लिन भनिएको थियो ।

साउन १ गते प्रकाशित विज्ञापनमा दरखास्त दिने अन्तिम मिति साउन १५ सम्म तोकिएकोमा त्यसपछि पनि थप उम्मेद्वारलाई भर्ना प्रक्रियामा सामेल गरिएको तथा कतिपय परीक्षार्थी स्वयं छनौट प्रक्रियामा संलग्न भएको भन्दै उजुरी परेपछि अस्पतालले भदौ ५ गते एक सूचना जारी गर्दै नियुक्ती प्रक्रिया स्थगित भएको जनाएको हो । कर्मचारी छनौट प्रक्रियाका सम्बन्धमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मन्त्रालयका प्रवक्ता डा.खगेश्वर गेलालको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएपछि सो समितिबाट प्रतिवेदन प्राप्त नहुन्जेलसम्मका लागि भन्दै अस्पतालले नियुक्ति प्रक्रिया स्थगित गरेको थियो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले एकातिर छानबिन चलिरहँदा अर्कोतिर अस्पतालले नियुक्ती दिनु उचित नदेखिएकाले हाललाई प्रक्रिया रोकिएको बताए । उनले भने, ‘आज हामीले नियुक्ती दिइरहँदा भोलि छानबिन समितिले छनौट प्रक्रियामा कैफियत देखायो भने नियुक्ती नै बदर गर्नुपर्ने हुन्छ । त्यसैले वैधानिकताका लागि पनि छानबिन समितिको निर्णय पर्खेका हौँ ।’

छानबिन समितिका संयोजक डा. गेलालले समितिको तर्फबाट प्रतिवेदन मंगलबार नै स्वास्थ्य मन्त्रालयमा पेस भइसकेकाले बुधबारसम्म नियुक्ती प्रक्रिया टुंगोमा पुग्ने बताए । नियुक्ती प्रक्रियालाई छिटो टुंग्याउन दबाब दिनका लागि मुख्यमन्त्री कार्यालय पुगेका उम्मेद्वारका प्रतिनिधिहरूलाई मुख्यमन्त्री लामाले पनि बुधबारसम्म निष्कर्ष निस्कने आश्वासन दिएका छन् ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया