राजदेवी मूल पूजा तथा उपसमिति चयन

महावीरको ५७औँ साधारणसभा सम्पन्न

जनकपुरधाम । जनकपुरधामको युवाहरूमा चर्चित श्री महावीर युवा कमिटीको ५७औँ साधारणसभा सप्तरीको ऐतिहासिक प्रसिद्व माँ छिन्नमस्ता भगवती मन्दिरको प्रांगणमा सम्पन्न भएको छ । जनकपुरधामको सैयौँ युवाहरूको व्यापक उपस्थितिका बीच कमिटीको साधारणसभा विभिन्न निर्णय र सुझावसहित सफलतापूर्वक सम्पन्न भएको कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले बताएका छन् ।

जनकपुरधामको मुख्य शक्तिपीठ माँ राजदेवी मन्दिरको सम्पूर्ण व्यवस्थापन र विजयादशमीमा लाग्ने भव्य चर्चित दसैँ मेलाको आयोजना गर्ने कमिटीले देशका विभिन्न शक्तिपीठहरूमा आफ्नो साधारणसभा गर्ने गरेका छन् । ‘म महासचिव हुँदा जनकपुरधामको युवाहरूको उपस्थितिमा मनकामना माई गएर साधारणसभा गरेको थिए’, गुप्ताले भने, ‘५७औँ साधारणसभा माँ सखडा भगवतीको प्रांगणमा सफलतापूर्वक गरेका छौँ ।’

उनले मधेसको मुख्य शक्तिपीठहरू सहितका विभिन्न धार्मिक पर्यटनका केन्द्रको विकास, सौन्दर्यकरण र व्यवस्थीकरण गर्न सकिए मधेसमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । साधारणसभाबाट महासचिव चन्दन नागवंशीको सांगठनिक र कोषाध्यक्ष चन्दनराज शर्माको आयव्यय विवरणसहितको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

अध्यक्ष गुप्ताले कमिटीको विधान, नियम निष्ठा र अनुशासन विपरीत काम गरेका केही पदाधिकारी र सदस्यलाई कारबहीसमेत गरिएको र साधारणसभाबाट पारित भएको बताए । सो अवसरमा कमिटीका पूर्वअध्यक्ष तथा पदाधिकारीहरू, जनकपुरधाम उद्योग वाणिज्य संघका वर्तमान, पूर्वपदाधिकारी तथा आगामि निर्वाचनका विभिन्न पदका उम्मेद्वारको बाक्लो उपस्थिति थियो । सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष युवा नेता विद्यानन्द चौधरीको विशेष उपस्थिति रहेको थियो ।

त्यसैगरी साधारणसभाबाट महावीर युवा कमिटीले माता राजदेवीको पूजालाई भव्य बनाउनका लागि मूल पूजा समितिसँगै विभिन्न उपसमिति चयन गरेको छ । बैठकबाट राजदेवी पूजाको मूल पूजा संयोजकमा रंजित भगतलाई चयन गरिएको अजय गुप्ताले जानकारी दिए ।

यसका साथै विभिन्न ९ वटा उपसमितिसमेत चयन गरिएको हो । ठेहा संयोजकमा अजित शर्मा, महाप्रसाद तथा भव्य शृंगार संयोजकमा दीपक साह, भजन सन्ध्या संयोजकमा रंजन जयसवाल, मेला संयोजकमा रोशन कुमार साह, खोईछ भराई संयोजक तथा पार्क संरक्षण संयोजकमा बिकास साह (बिक्की), सरसफाइ संयोजकमा सुनिल राउत, रावण वध संयोजकमा ओमप्रकाश गुप्ता, बिजयदशमी तथा झाँकी संयोजकमा मोहन साह (हिन्दू) र लाइन व्यवस्थापन तथा खाना संयोजकमा शशी साहलाई चयन गरिएको छ ।

प्रतिक्रिया