काठमाडौँ । अर्जुन कुमारको लगानीमा बनेको फिल्म ‘सानो संसार’ को प्रदर्शन मिति हेरफेर भएको छ । १७ असोजमा रिलिज हुने तयारीमा रहेको यो फिल्म अब १ साताअगाडि ११ असोजमा प्रदर्शनमा आउनेछ । निर्माता अर्जुन कुमारले फेसबुकमार्फत १ पोस्टर सेयर गर्दै फिल्म प्रदर्शनको विषयमा जानकारी दिएका छन् ।
‘हाम्रो सिनेमा ‘सानो संसार’ अब एक हप्ता अगाडि असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु । अगामी दिनमा यहाँहरू सवैको सहयोगको अपेक्षा गर्दछौँ’, उनले लेखेका छन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेना मुख्य भूमिकामा छिन् । फिल्ममा सीतासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको अभिनय रहनेछ । यी सबै कलाकारले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
यो फिल्म राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको छ । सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले रहेका छन् । फिल्मलाई सिद्धार्थ पुडासैनीले सिनेमालाई निर्देशन गरेका हुन् । यसै फिल्मबाट उनले लेखन तथा निर्देशनमा डेब्यु गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् ।
प्रतिक्रिया