युवा वर्ष मोती पुरस्कार श्रेष्ठलाई

काठमाडौँ । यसवर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार तथा रंगकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको छ । बालसाहित्य र रंगमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा श्रीवृद्धिका लागि योगदान पु¥याएवापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।

वरिष्ठ साहित्यकार प्रा.रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्यांकन समितिको सिफारिसअनुसार २०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा २०४२ सालमा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष कुशेऔँसीको दिन प्रदान गरिँदै छ ।

‘युवावर्ष मोती पुरस्कार’ पहिलोपटक साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो । अघिल्लो वर्ष २०८० सालमा कवि, गीतकार तथा अनुवादक प्रमोद सारंगलाई प्रदान गरिएको थियो । पुरस्कार पाउने श्रेष्ठ बालसाहित्य क्षेत्रमा कथा लेखन, बालनाटक, चलचित्र लेखन र निर्देशनमा सक्रिय छन् । उनका प्रकाशित ५ बालपुस्तकमध्ये गुलियो स्याउ, आइसक्रिम सपना नेपाली बालसाहित्य क्षेत्रमा चर्चित छन् । उनको लियो टल्सटायका अनुदित बालनाटकहरू पनि प्रकाशित छ ।

श्रेष्ठ थिएटर मल नाटकघर र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका संस्थापक तथा कला निर्देशक हुन् । व्यावसायिक रंगमञ्चमा ‘उपियाँको निबन्ध’, ‘करेसा कन्सर्ट’, ‘मान भर्सेस मति’, ‘बदरंग’, ‘भोको घर’, ‘जामुनको रुख’ उनका रंगमञ्चीय पहिचान दिलाउने नाटकहरू हुन् ।

साहित्यकार पारिजातको ‘शिरीषको फूल’मा आधारित नाटकको परिकल्पनाकारसमेत उनी हुन् । थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार विजेता लघु चलचित्र ‘जुनुको जुत्ता’को निर्माता र निर्देशक पनि हुन् ।

प्रतिक्रिया