३ पुस्तक उत्कृष्ट घोषणा

काठमाडौँ । फेमकुमारी–डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठानले ‘भक्तगाथा’सहित ३ पुस्तकलाई उत्कृष्ट घोषणा गर्दै त्यसका लेखकहरूलाई सम्मानित गर्ने भएको छ । २०८० सालभरि प्रकाशित कृतिमध्येबाट ‘भक्तगाथा’, ‘लहना र तीर’ तथा ‘क्रान्तिदूत’ उत्कृष्ट ३ मा छनोट गरिएको जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेलले जारी गरेको विज्ञप्तिअनुसार मकवानपुरका शिवप्रसाद ढकालद्वारा लिखित जीवनी गाथा ‘भक्तगाथा’ भक्तपुरका अभय श्रेष्ठको कविता संग्रह ‘लहना र तीर’ र ताप्लेजुङका खेमराज निरौलाले लेखेको महाकाव्य ‘क्रान्तिदूत’ उत्कृष्ट ३ मा छनोट गरिएका हुन् ।

१५ भदौमा भक्तपुरमा कार्यक्रम आयोजना गरी पुस्तकका लेखक त्रयलाई फेडोल उत्कृष्ट सिर्जना सम्मान–२०८१ प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेलकी आमा फेमकुमारी तथा पिता डोरनाथ ढुंगेलको स्मृतिमा २०६८ सालमा फेमकुमारी डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठान स्थापना गरिएको थियो । अध्यक्ष ढुंगेलले आफूले प्राप्त गरेको पुरस्कार तथा लेखकस्वस्वरूप प्राप्त रकमबाट अक्षयकोष खडा गरी मातापिताको नाममा २०७२ सालबाट यो सम्मान प्रदान गर्न थालेका हुन्  ।

प्रतिक्रिया