इजरायली सेनाले हिजबुल्लाहका कैयौँ रकेटलाई ध्वस्त पार्यो (तस्विरहरु)

जेरुसेलम । इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौँ रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेर ध्वस्त पारेको जनाएको छ ।

‘करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हजारौँ हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी ध्वस्त गरिएको छ,’ इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाव शोशानीले भने, ‘हिजबुल्लाले उत्तरी इजरायलतर्फ सयौँ रकेट र युएभी प्रहार गरेको छ ।’

‘हिजबुल्लाहबाट भएको आक्रमण ‘योजनाबद्ध रूपमा गरिएको ठूलो आक्रमण योजनाको एक हिस्सा थियो र हामी आज बिहान यसको ठूलो मात्रालाई विफल पार्न सफल भयौँ,’ हिजबुल्लाहले के लक्षित गरेको थियो भन्ने जानकारी दिन अस्वीकार गर्दै शोशानीले भने ।

‘हामी अहिले आक्रमणपछिको अवस्थाको आँकलन गरिरहेका छौँ, अझै पनि केही आक्रमणहरू भइरहेका छन्, आक्रमणबाट त्यहाँ सामान्य क्षति भएको छ,’ उनले भने ।

शोशानीले हिजबुल्लाहमाथि आइतबार भएको आक्रमणमा अमेरिकासहित इजरायलका साझेदारले भाग नलिएको बताए । उनले भने, ‘आइतबार बिहान इजरायलीतर्फबाट केही कारबाही भएका छन् ।’– रासस, एएफपी

प्रतिक्रिया