रौतहट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । देशभरका स्थानीय तहको विभिन्न आधारमा निकालिएको स्वमूल्यांकन नतिजालाई हेर्दा रौतहटका स्थानीय तहमा गौर नगरपालिका सर्वोत्कृष्ट भएको छ ।
१८ ओटा स्थानीय तह रहेको रौतहटमा ८० अंकसहित सदरमुकाम गौर सर्वोत्कृष्ट भएको हो । विगतमा पनि विभिन्न मूल्यांकनहरुमा जिल्लामा गौर नगरपालिका सर्वोत्कृष्ट ठहरिँदै आएको छ ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय उपशीर्षकहरुमा मूल्यांकन गरिएको छ । स्वमूल्यांकनमा गौरले सबैभन्दा बढी अंक प्राप्त गरेको हो ।
यसै गरी गरुडा नगरपालिकाले ७१.७५ अंक प्राप्त गरी जिल्लामा दोस्रो स्थान प्राप्त गरेको छ । गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद कल्वारले जिल्लामा लिजाको नतिजामा दोस्रो स्थान प्राप्त गर्नु खुसीको कुरा भएको बताएका छन् । जिल्लाको राजपुर नगरपालिकाले ७१ अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।
राजपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको संयुक्त प्रयासले राजपुरले तेस्रो हुने सम्मान पाएको बताएका छन् । नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिकाको विकासमा जनप्रतिनिधि र कर्मचारीहरुले गरेको प्रयास सार्थक भएको बताएका छन् । अझ राम्रो नतिजाका लागि आफूहरुले प्रयास र परिश्रम गरिरहेको नगर प्रमुख डा. आलमको भनाइ छ ।
तत्कालीन प्रशासन प्रमुख ठाकुरले वित्तीय अनुशासन कायम गर्न नगरपालिकाका लेखापाल मनोज कर्ण तथा लिजाका फोकल पर्सन हरेन्द्र साहले पनि निकै प्रशंसनीय भूमिका खेलेको बताएका छन् । आफूहरुको संयुक्त परिश्रमले नपाले राम्रो नतिजाको सम्मान पाउँदा आफूहरु हर्षित भएको ठाकुरले बताएका छन् ।
लिजाको नतिजामा चन्द्रपुर नगरपालिका ६७.७५ अंकसहित जिल्लामा चौथो, ६४ अंकसहित राजदेवी नपा पाँचौ, ६२.७५ अंकसहित परोहा नपा छैटौँ, ६१.२५ अंकसहित दुर्गा भगवती गापा सातौँ तथा ६० अंकसहित माधवनारायण नपा आठौँ भएका छन् । यसै गरी ५५.७५ अंकसहित ईशनाथ नपा नवौँ, ५४.२५ अंकसहित देवाही गोनाही नपा दशौँ र ५३.७५ अंकसहित कटहरिया नपा जिल्लामा एघारौँ भएको छ ।
यसै गरी लिजाको नतिजाअनुसार रौतहटमा यमुनामाई गापा ४६ अंकसहित बारौँ, ४४.७५ अंकसहित गुजरा नपा तेरौँ, ४२.७५ अंकसहित मौलापुर नपा चौधौँ, ३९.५० अंकसहित वृन्दावन नपा पन्ध्रौँ, ३४ अंकसहित बौधीमाई नपा सोरौँ, २४ अंकसहित फतुवा विजयपुर नपा सत्रौँ र २०.५० अंकसहित गढीमाई नपा जिल्लामा अठारौँ स्थानमा रहेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया