पूर्णबहादुर श्रेष्ठ ‘हृदयकृत’ को सरल हुने बानी, सामान्य रूपमा प्रस्तुत हुने स्वभावसँगै साहित्यिक गतिविधिमा फुर्सद मिलेसम्म सहभागी हुन मनपराउने चरित्र छ । उनी मुक्तकलाई अत्यन्तै माया गर्छन् । यसअघि ‘पूर्णपात्रो’ पहिलो मुक्तकसंग्रह प्रकाशित गरेका उनको ‘पूर्णचन्द्र’ दोस्रो मुक्तकसंग्रह हो । २७० वटा विषयगत रूपले विभिन्नता बोकका मुक्तकहरू समावेश भएको यो कृति मुक्तककार आफैँले प्रकाशित गरेका हुन् ।
मुक्तक भन्नासाथ कविताको सानोरूप बुझिन्छ । मुक्तकले अत्यन्तै थोरै शब्दमा धेरै कुरालाई उजागर गर्दछ । यो अहिले साहित्यमा लोकप्रिय छ । यसले भावलाई पोख्छ । यसमा चतुष्पदीय हरफ रहेको हुन्छ । तुक प्रयोग गरेर पहिलो र दोस्रो हरफ लेखिन्छ भने तेस्रो हरफ स्वतन्त्र हुन्छ । अन्तिम हरफ पहिलो र दोस्रोसँग मिलेको हुनुपर्छ । यी सबै हरफमा झट्ट हेर्दै राम्रै जमेका देखिन्छन् उनी ।
उनी आफ्ना मुक्तकहरूलाई लयात्मकताले पुष्ठ पार्न खप्पिस छन् । भाषिक शब्दचयनले मुक्तकमा मिठास भर्न सिपालु छन् । थोरै शब्दमा धेरै आशय ब्यक्त गर्न सक्नु मुक्तकको विशेषता मानिन्छ । यो दृष्टिले उनका मुक्तक सार्थक लाग्छन् । समयचेतले सान्दर्भीक, राजनीतिक अस्तब्यस्तता प्रतिको तिखो छेडखान, मानवीय भाव र संवेदनाले भरिपूर्ण उनका मुक्तकले निरशासँगै आशावादिताको सञ्चार पनि गरेका छन् । आफूले देखेभोगेका र अनुभूति गरेका कुराहरूलाई मुक्तकमा प्रस्तुत गर्ने उनको कौशलता रहेको छ । कुनै पनि कुरा टपक्क टिपेर शब्दमा उन्न सिपालु देखिन्छन् । उनका मुक्तकका अन्तरवस्तु भनेकै समाज र यसैका अनेकन अवयवहरू हुन् । उनको लेखनीमा आफ्नै भाव, रंग र मुक्तकलाई सजाउने कला छ । मनमा तरंगित भावहरूलाई शब्दमा खिपेर मुक्तकमा अभिव्यक्त गर्न खप्पिस पूर्ण व्यक्तिगत जीवनमा जति सरल छन् लेखनीमा पनि उस्तै सरल देखिन्छन् ।
उनले यस कृतिमा अभाव र पीडामा छट्पटिएका आमनेपालीका समस्याहरू आँैल्याएका छन् । किसानका पीडा ओकलेका छन् । मलको अभावले उत्पादन नहुँदा मारमा परेका किसानहरूको व्यथा उजागर गरेका छन् । अनि दुःख र मिहिनेतले फलाएको फसलको उचित भाउ नपाउँदा नालायक र मूकदर्शक बनेका राजनीतिक दलहरूप्रति ब्यंग कस्दै सडकमा किसानले पोखिदिएका अन्न, दूधहरूको पक्षमा बोलेका छन् ।
जस्तै :
अब हाम्रो भनेर पार्टी र दलका कुरा के गर्नु
सधैँ छलछाम हुने गर्छ बलका कुरा के गर्नु
किसान पुर्पुरोमा हात राख्दै खेतबारी हेर्छन्,
यता दुष्ट सरकारसँग मलका कुरा के गर्नु ।
चोटिला मुक्तकहरू छन् यस संग्रहमा । लोकतन्त्र आएको यतिका वर्ष हुँदा पनि जनताले लोकतन्त्रको फल चाख्न पाएका छैनन् । विशेषतः देशका राजनीतिका नकारात्मक कुराहरूले प्रश्रय पाइरहेको वर्तमान परिवेशमा त्यसैतर्फ कटाक्ष गरी विद्रोह ओकल्छन् । आममान्छेका सपनामाथि होली खेलिरहेका राजनीतिका चतुर पात्रहरूले जनतामाथि भ्रमको खेती गरिरहेको तर्फ सबैलाई सचेत पार्छन् । यसरी हेर्दा राजनीतिक व्यंगचेतले भरिएका देखिन्छन् मुक्तककार । उनी अन्याय र अत्याचार सहन नहुने तर्क गर्छन् । राजनीतिक दलहरूमा फैलिएको कुशासनका लागि दलको विरोध गर्छन् । मुलुकमा बेथिति बढ्दै गएको, भ्रष्टाचारले संस्थागत रूप लिन खोजेको, अव्यवस्था र अराजकताको पराकाष्ठाको दलदलले जनतालाई छोप्दै गएको प्रति पनि उनी असन्तुष्ट हुँदै विरोध प्रदर्शन गर्छन् शब्दरूपी तिखो गोली जस्तै :
अन्याय अत्याचार सहेर मात्रै विरोध गरेको हुँ
पार्टी पार्टी जस्तै नभएर मात्रै विरोध गरेको हुँ
तपाईंले के देख्नु भो लोकतन्त्रमा महाशय,
मैले त भ्रष्टाचार देखेर मात्रै विरोध गरेको हुँ ।
यस्ता मूलुकका बेथिति, राजनीतिक दुरावस्था, राजनीति दलका अकर्मण्यता लगायतका विषयमा कृतिभित्र धेरै मुक्तकहरू पढ्न पाइन्छ । राजनीतिको फोहोरलाई मुक्तकमा औँल्याइएको छ । ५ वर्षमा एकपटक मात्र जनताप्रति माया लाउने वर्तमान राजनीतिक नेताहरूप्रति आलोचनात्मक भेद प्रहार गरिएका मुक्तकहरू पनि लेखेका छन् पूर्णले ।
यति मात्र कहाँ हो र ? सत्ताका लागि मुलुकलाई नै दाउमा लाउन पछि नपर्ने राजनीतिज्ञहरूप्रति मर्मभेदी प्रहार गरिएको छ । सिमानामा बस्ने नेपालीका पीडाले उनलाई निन्द्रा परेको छैन । विदेशपरस्त भएर देशलाई डुबाउनेहरूसँग मुक्तककार सहमत हुन सक्दैनन् । कविमन पोल्छ र आगो ओकल्छन् । जस्तै ः
सिमानामा भूमिसँगै आफ्नै जनता कुटिएको छ
न्यायालयमा न्यायाधीशकै टाउको फुटिएको छ
विदेशीको इशारामा नेताहरूले देश चलाएपछि,
भित्रभित्रै खोक्रो बनाइ लुट्नसम्म लुटिएको छ ।
आर्थिक दुरावस्थाप्रति चिन्ताभाव प्रकट भएका मुक्तकहरू लेखिएका छन् । राष्ट्र राष्टियता, नेपालीको वीरता, देशमा रोजगारी नपाएर बिदेसिनु परेको सन्दर्भहरू पनि मुक्तकमा परेका छन् । देशप्रेमको भावना प्रवल बनेर मुक्तकहरूमा प्रकटीकरण भएको छ ।
यसैगरी परम्परित रूपमा मनाइने विभिन्न संस्कार र संस्कृतिको जगेर्नामा पनि मुक्तकहरूले जोडबल गरेका छन् । विभिन्न चाडपर्वहरूको महिमा पनि लेखिएको छ । जीवन र जगतलाई हेर्ने भावना पनि पूर्णको कस्तो छ भन्ने मुक्तकहरूले प्रष्ट्याएका छन् । उनी जुनै पनि विषयमा शब्द खिप्न सिपालु छन् भन्ने ‘पूर्णचन्द्र’ले बताउँछ ।
उनमा राजनीतिक चेत पनि उत्तिक्कै घनिभूत लाग्छ । उनी पुरानो पुस्ताले अब राजनीतिमा नयाँपुस्तालाई ठाउँ देओस् भन्ने अपेक्षा गर्छन् । चुनावमा युवालाई मत माग्छन् । उनलाई मुलुकमा चौतर्फी बेथितिले नयाँ पुस्ताको भविष्य अन्यौल भएको ठोकुवा गर्छन् । उनी विभिन्न दैवीविपत्ति र प्रकोपहरूबाट बच्न सचेतना जगाउँछन् ।
उनी प्रकृतिका पुजक हुन् । प्राकृतिक सुन्दरता कसलाई मन पर्देन र ? उनी प्रकृतिप्रेमी भएर मुक्तक कोर्छन् । नेपालका हिमाल, खोलानाला लगायतको बखान गर्छन् । विभिन्न तालतलैयाहरूको सुन्दरतामा डुबेर मुक्तक कोर्छन् । जस्तै :
तिलिचो, रारा, फोक्सुण्डो त कहिले फेवातालमा हुन्छु
विश्वको नै उच्च शिखर हाम्रा सम्पत्ति हिमालमा हुन्छु
प्रकृतिको अनुपम उपहार स्वर्गीय आनन्द दिलाउने,
जहाँ जसरी रहन्छु आखिर आफ्नै देश नेपालमा हुन्छु ।
मायाप्रेम कसको हुँदैन र ? उनी पनि मुक्तकमा मायाप्रेमका कुरा गर्छन् । प्रेममा लयात्मक उनी मीठो भावमा मुक्तक गुथ्छन् । तर ‘पूर्णचन्द्र’मा केही थान मात्रै प्र्रेमिल मुक्तक छन् । प्रेम, विछोडका मुक्तक कम छन् । प्रेममा आशावादी पूर्णका केही लाइन हेरौँ :
एकआपसमा मायाप्रिती साटेर बाँचौँला
दुःख सुख जे आउँदा पनि रमेर हाँसौँला
एकवारको जुनी हाम्रै त हो नि कुरा बुझेर,
प्रेमिल कथाहरू हामी छाप्दै जुनी काटौँला ।
उनी जीवनप्रति आशावादी भएर बाँच्न रुचाउँछन् । भुँइचालोले धरहरा ढल्दा शीर ढलेजस्तो लाग्छ । भुँइमान्छेका पीडामा पीडित हुने उनको कोमल कविमन, विदेशीले गिद्धे नजर लाउँदा आक्रोशको ज्वालाले कठोर बन्छ र शब्दमा अभिव्यक्त हुन्छ । नेपाली सेनामा लामो समय सेवा गरेका उनी राष्ट्रको स्वाभिमानमा आँच आउन नदिन जे प्राणको आहुती दिनैपरे पनि पछि नहट्ने राष्टूप्रेमी भाव प्रकट गर्छन् ।
सकारात्मकता, आदर्शवादी चेत, राष्ट्रप्रेम, विकृतिहरूप्रति तीव्र्र प्रहार, प्रेम, प्रकृतिप्रेम लगायतका सन्दर्भमा संग्रह यसरी आफ्नो दोस्रो मुक्तक संग्रह ‘पूर्णचन्द्र’ विषयगत विविधाले भरिपूर्ण बनाएका पूर्णले विभिन्न भावमा मुक्तकहरू सिर्जना गरेको देखिन्छ । यसमा मुक्तक विभिन्न आयाममा लेखिएका छन् ।
कुनै पनि लेखक, सर्जक, कवि आफैँमा पूर्णत कमजोररहित हुने भन्ने किमार्थ हुँदैन । यही कुरा पूर्णबहादुर श्रेष्ठको हकमा पनि लागू हुन्छ । पहिलो मुक्तक संग्रहमा भन्दा खारिएका र परिष्कृत भएका भए पनि उनका केही मुक्तकहरूमा एउटै शब्दहरू दोहोरिएको पनि पाइन्छ । कतै कतै शुद्धाशुद्धीमा सामान्य त्रुटी देखिएका छन् । ४ वटा शुभकामना मन्तब्य, परिचय, सम्पादकीय, आफ्ना मनका कुरा सहितले १० पेज लिएको छ जुन पाठकलाई बोझिलो लाग्न सक्छ । आगामी कृतिमा यसतर्फ ध्यान दिनु उपर्युक्त हुन्छ ।
तर, चारपदीय अन्त्यानुप्रास मिलेका, फाँकी मिलेका, छोटा लयका बान्कीपूर्ण अलंकारहरू प्रयुक्त, बान्कीपूर्ण कथ्यहरू मिसाइएका सुन्दर लाग्दा मुक्तकहरू संरचना मिलेकै देखिएका मुक्तकशिल्प राम्रो छ । भाषिकशिल्प राम्रो छ । कलात्मकताको लेपन आवश्यकताअनुसार भएको छ । चोटिला, स्वादिला मुक्तकले पाठकलाई स्वादन गराउन सक्छ । अनुभूतिलाई तीव्रतर रूपमा अभिव्यक्त गर्न मुक्तकहरू सफल देखिएका छन् ।
प्रतिक्रिया