कन्चनरूप । सप्तरीको रूपनगरमा ‘रूपनगर सर्वोदय पुस्तकालय’ नामक सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ । रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा स्थापना गरिएको उक्त सार्वजनिक पुस्तकालय उच्च अदालत राजविराज–जनकपुर इजलासका न्यायाधीश अर्जुन अधिकारीले एक समारोहको बीच उद्घाटन गरेका हुन् ।
करीब ५ हजार भौतिक पुस्तकका साथै केही हजार ‘अफ लाइन’ ई–पुस्तक राखेर आरम्भ गरिएको रूपनगर सर्वोदय पुस्तकालयमा आधा दर्जन विश्वस्तरीय ‘अनलाइन’ पुस्तकालयमा समेत पहुँच कायम गरिएको क्याम्पस प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले जानकारी दिए ।
पुस्तकालयको उद्घाटन गर्दै न्यायाधीश अधिकारीले पठन संस्कृति हराउँदै गएको हाम्रो समाजमा पढ्ने र अनुसन्धान गर्ने बानी बसाल्न यो पुस्तकालयले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
हाल अमेरिकाको टेक्सास बस्ने इञ्जिनियर विजयराज भट्टराईको आर्थिक संयोजन तथा सहयोगमा रूपनगर सर्वोदय पुस्तकालय स्थापना गरिएको प्राध्यापक गजुरेलले जानकारी दिए । नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्सासमा नेपालीहरूद्वारा सञ्चालित ‘ग्लोबल नेपाली पाठशाला’ मा करिब ६ वर्ष प्रिन्सिपलका रूपमा नेतृत्व गरेका भट्टराईले टेक्सासका समाजसेवीहरूको सहयोगमा ‘सर्वोदय फाउन्डेसन नेपाल’ स्थापना गरी मानव सेवा गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस पढाइ हुने सप्तरी जिल्लाको रूपनगरस्थित रूपनगर नन्दराज संग्रौला क्याम्पसमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि इञ्जिनियर विजयले झण्डै १३ लाख रुपैयाँ सहयोग गरेको क्याम्पसले जनाएको छ । अध्ययन, अनुसन्धान समाज विकासको जग हो भन्ने मान्यता राख्ने भट्टराईले पुस्तकालय सञ्चालनका लागि २ वर्षसम्म निरन्तर सहयोगसमेत गर्नेछन् ।
प्रतिक्रिया