सागरनाथ वनको विषयमा संघीय वनमन्त्री र मधेसका मुख्यमन्त्रीबीच संवाद

जनकपुरधाम । मधेस प्रदेशमा रहेको एक मात्र विषेश आयोजनाको वन सागरनाथ वनको विषयलाई लिएर वनमन्त्री र मधेसका मुख्यमन्त्रीबीच संवाद भएको छ ।

संघीय वन मन्त्री ऐनवहादुर शाही ठकुरीले नेपालको वनक्षेत्रलाई विकास र प्रवद्र्धन गरी लाभ लिने विषयमा सबै एकठाउँमा उभिनुपर्ने बताए । नेपाल भित्रको वनलाई जसले व्यवस्थापन गरे पनि यसको उद्देश्य बृहत्तरलाभ लिने हुनुपर्छ । जनहित अनुकूल हुनपर्छ यसको लागि संघीय सरकार सहजीकरण गर्न तयार रहेको जानकारी दिए ।

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सागरनाथ वनको व्यवस्थापनको विषयमा भएको अन्यौलताले यसको सुरक्षा र विकासमा समेत समस्या परेको कारण छिटो मधेस प्रदेशलाई हस्तान्तरण गर्न आग्रह गरेको कुरा बैठकमा सहभागी एक अधिकारीले जानकारी गराए ।

आवश्यक तयारी गरी सागरनाथ वनक्षेत्रको उचित सदुपयोग र विकास गर्न उचित निर्णय लिनको लागि थप सहकार्य गर्ने कुरा भएको दुवै मन्त्रीको सचिवालयले जनाएका छन् ।

नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र वन भए पनि मधेस प्रदेशमा खासै वन क्षेत्र छैन । यहाँको कुल भूभागको २२ प्रतिशत क्षेत्र मात्र वन पर्छ । त्यो पनि कोसीटप्पु र पर्सा निकुञ्जको केही वनका कारण यस्तो देखिएको हो ।
सागरनाथ वन क्षेत्र नहुने हो भने मधेसमा वनक्षेत्र नगण्य हुन जान्छ । यस्तो अवस्थामा प्रदेशले आफ्नो क्षेत्रमा वन अनुसन्धान र वन विकासका काम गर्नसमेत उपयुक्त वन छैन ।

मधेस प्रदेशमा वन तथा वातावरण मन्त्रालय छ तर प्रयाप्त काम गर्ने वन क्षेत्र नै छैन । यसका लागि सागरनाथ वनलाई प्रदेश माताहत ल्याउन विभिन्न प्रयास भइरहेका छन् । यो विषयलाई लिएर संघ सरकार र मधेस सरकारबीच समयसमयमा विवादसमेत हुने गरेको छ । यो पटक भने संघीय वन मन्त्री र मधेसका मुख्यमन्त्रीले सागरनाथ वनको विषयमा गहन छलफल गरेको बताएका छन् ।

सागरनाथ वन विकास परियोजनाको अधिकांश क्षेत्र नेपालको मध्य तराईका मुख्य २ जिल्ला सर्लाही र महोत्तरीको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा वागमती नदी बीचमा रहेको छ । यसले करिब १३ हजार ५१२ हेक्टर वन क्षेत्र ओगटेको छ जसअन्तर्गत रौतहटको दुधिअवा तथा चन्द्रपुर नगरपालिका जुडीवेलामा २५० हे. क्षेत्रफलको वन क्षेत्रसमेत पर्दछ ।

यो परियोजना देशमा तत्कालीन अवस्थामा दाउरा आपूर्तिसम्बन्धी समस्याको समाधानका लागि कम हैसियतको वन क्षेत्रमा छिटो बढ्ने तथा प्रति एकाई जमिनबाट वढी उत्पादन दिने प्रजातिलाई प्राथमिकता दिई परियोजना क्षेत्रमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरी वन पैदावारको आपूर्तिमा सघाउ पु¥याउने मुख्य उद्देश्यले एसियाली विकास बैंकको ऋण सहायताबाट विकास समिति ऐन २०१३ बमोजिम गठित वन पैदावार विकास समिति अन्तर्गत २०३५ सालमा स्थापना भएको हो ।

यस परियोजनाको कार्यालय सर्लाही जिल्लाको ईश्वरपुर नपा–४ स्थित सागरनाथको मन्दिर नजिकै रहेको छ । प्रारम्भमा परियोजनाको करिब १० हजार ७४० हेक्टरमा कम हैसियतको प्राकृतिक वनको सरपट कटान गरी छिटो बढ्ने, छिटै बढी उत्पादन दिने मसला, सिसौ, टिक तथा अन्य प्रजातिहरूको वृक्षरोपण गरिएको थियो ।

अहिले मधेस प्रदेशमा रहेको वनको विशेष क्षेत्र बनेको छ सागरनाथ क्षेत्र । यहाँ विभिन्न खालका वन अनुसन्धानका कामसमेत भइरहेका छन् । मधेस प्रदेशको वन गौरवको क्षेत्रको रूपमा पनि सागरनाथ क्षेत्र चिनिन्छ ।

प्रतिक्रिया