राजश्वको विरोधमा व्यवसायीले बुझाए मेयरलाई चाबी

हेटौँडा । अस्वाभाविक राजश्व वृद्धि भएको भन्दै हेटौँडामा आन्दोलनमा उत्रिएका व्यवसायीहरुले शुक्रबार उपमहानगरपालिकामा चाबी बुझाएका छन् । चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले वृद्धि गरेको राजश्व दर फिर्ता हुनुपर्ने मुख्य मागसहित व्यवसायहीहरुले नगरप्रमुख मिनाकुमारी लामालाई चाबी बुझाएका हुन् ।

सोमबारदेखि ५ दिने आन्दोलनमा उत्रिएका व्यवसायीहरुले चाबी बुझाउनुअघि आज बिहानैदेखि आफ्ना पसल व्यवसाय बन्द गरेर उपमहानगरको प्रांगणमा धर्ना दिएका थिए । नगरप्रमुख लामा तथा उपप्रमुख राजेश बानियाँले व्यवसायीहरुलाई कार्यकक्षमै चाबी हस्तान्तरण गर्न भनेपनि व्यवसायीहरुले आफ्ना माग पुरा नभएसम्म उपमहानगरको कार्यालय प्रवेश नगर्ने अडान लिएपछि प्रमुख र उपप्रमुखले उपमहानगरको प्रांगणमै व्यवसायीहरुबाट चाबी बुझेका हुन् ।

चाबी बुझाइसकेपछि पहिलो चरणको पाँच दिने आन्दोलनको समापन गर्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले वृद्धि गरिएका अस्वाभाविक करका दर फिर्ता नभएसम्म आन्दोलन नरोकिने बताए । यसैबीच, हेटाौँडा उपमहानगरपालिकाले छलफलबाट समस्याको समाधान गर्न भन्दै आन्दोलनरत व्यवसायीहरुलाई वार्ताका लागि बोलाएको छ ।

‘उपमहानगरपालिकाको नगरसभाबाट निर्धारण भई स्वीकृत भएको करका दरहरुका सन्दर्भमा द्विविधा भई उद्योग वाणिज्य संघले हाल चरणवद्ध आन्दोलनका कार्यक्रमहरुको सुरुवात गरेको विषयमा उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ उपमहानगरपालिकाले संघलाई सम्बोधन गर्दै लेखेको छ । उपमहानगरले आह्वान गरेबमोजिम आजै (शुक्रबार) अपरान्ह उद्योग वाणिज्य संघले आफ्नो वार्ता टोली पठाउने संघका प्रवक्ता उज्वल चौलागाईँले जानकारी दिए ।

व्यवसायीहरुले चरणबद्ध आन्दोलन थालेपछि उपमहानगरपालिका प्रतिनिधित्व गर्ने नेकपा एमालेबाट निर्वाचित ४८ नगरसभा सदस्यले विशेष नगरसभाको माग गरेका छन् । यता नेपाली कांग्रेसले भने नगरसभाबाट आफैँले पास गरेको करको दरका सन्दर्भमा एमाले जनप्रतिनिधिले विशेष नगरसभाको माग गर्नुलाई ‘दोहोरो चरित्र’ भनेको छ ।

कांग्रेस नगर सभापति उत्सव इटेनीद्वारा जारी विज्ञप्तिमा सरोकारवाला निकायसँग छलफल नगरी करको दर बढाइएकाले आन्दोलनरत पक्षसँग छलफल र आवश्यक समन्वय गरी समस्याको छिटो सम्बोधन गर्न साथै कर समायोजन गरी व्यवसायी र आम नगरबासीलाई आर्थिक न्याय दिन माग गरिएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, हेटौँडाले विज्ञप्ति जारी गर्दै नगरसभाबाट एकमतले कर बढाउने निर्णय पास गरेर अहिले विरोध सुरु भएपछि विशेष नगरसभा माग गरिएकोप्रति आश्चर्य व्यक्त गरेको छ । विज्ञप्तिमा रास्वपा नगर सभापति ध्रुव विष्टले बढाइएको सम्पूर्ण कर खारेज गरी पुरानै दर कायम गर्न माग गरेका छन् ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया