ट्रान्सफर्मर चोरी गर्ने गिरोहका ७ जना पक्राउ, शृंखलाबद्ध चोरीका घटना

काभ्रे । जिल्लाको विभिन्न स्थानमा विद्युत् ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने एक संगठित गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न स्थानमा जडान गरिएका ट्रान्सफर्मरहरूमा भइरहेको तार चोरीको सूचना प्राप्त भएपछि विशेष टोली परिचालन गरेर यस गिरोहलाई नियन्त्रणमा लिएको बताएको छ ।

प्रहरीचौकी भकुण्डेबेँशी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले चोरीमा संलग्न ७ जनालाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानले चोरी गरिएका तामाका तारहरू भक्तपुरका विभिन्न कवाडी पसलमा बेचेर प्राप्त रकम गिरोहका सदस्यहरूले आपसमा बाँड्ने गरेको खुलासा भएको छ । अनुसन्धानका क्रममा, प्रहरी वृत्त जगाती, भक्तपुरको संयुक्त टोलीले गिरोहका थप ३ सदस्यलाई समेत पक्राउ गरी, विभिन्न कवाडी पसलहरूमा खानतलासी गरेर चोरीको प्रमाणको रूपमा तामाका तार लगायतका सामानहरू बरामद गरेको छ । अनुसन्धानले गिरोहका सदस्यहरूले कवाडी सामान संकलन गर्ने निहुँमा विभिन्न स्थानमा ट्रान्सफर्मरको अवस्थिति पत्ता लगाउने, र रातको समयमा ट्रान्सफर्मर फोडेर तामाका तारहरू चोरी गर्ने योजना बनाउने गरेको पाइएको छ ।

शृंखलाबद्ध चोरीका घटना

मेलडाँडामा ट्रान्सफर्मर चोरी : २०८१ असार ७ गते राति भुम्लु गाउँपालिका–९ मेलडाँडामा रहेको एनसेल टावरमा जडान गरिएको २५ केभीए ट्रान्सफर्मर फोडेर ३ लाख रुपैयाँ बराबरको तामाको तार चोरी भएको थियो । २०८१ असार १६ गते राति तेमाल गाउँपालिका–५ मनकुलबेसीमा २५ केभिए ट्रान्सफर्मर फोडेर तामाको धातु चोरी भयो ।

२०८१ असार २४ गते राति नमोबुद्ध नगरपालिकामा रहेको बृहत् खानेपानी आयोजनाको ५० केभिए ट्रान्सफर्मर फोडेर तामाको तार चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०८१ साउन ७ गते साँधपोखरीमा रहेको कानपुर खानेपानी उपभोक्ता समितिको निर्माणाधीन कार्यालयमा ३ वटा ट्रान्सफर्मर फोडेर तामाको तार चोरी भयो । २०८१ साउन ११ गते मण्डनदेउपुर नगरपालिका–९ रानिटारमा ५० केभिए ट्रान्सफर्मर फोडेर ८० किलो तामाको तार चोरियो ।

यसैगरी २०८१ साउन १८ गते मण्डनदेउपुर नगरपालिका–७ सोतेमा १५० केभिए ट्रान्सफर्मर चोरी भएको थियो । यस गिरोहको गतिविधिहरू अन्य जिल्लामा समेत फैलिएको हुनसक्ने आशंकामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूसँग समन्वय गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेस गरी चोरी तथा डाकासम्बन्धी कसुर मुद्दामा म्याद थप गरेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया