हेटौँडा । राजश्व दर अत्यधिक वृद्धि गरेको भन्दै हेटौँडा उपमहानगरपालिकाविरुद्ध आन्दोलन सुरु गरेका हेटौँडाका व्यवसायीहरुले कानुनी लडाइँको पनि उद्घोष गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा सोमबारदेखि ५ दिने आन्दोलन थालेका व्यवसायीहरुले कर वृद्धिको विरोधमा उपमहानगरपालिकाविरुद्ध सामुहिक मुद्दा दर्ता गराउने भएका हुन् ।
आन्दोलनको स्वरुपका विषयमा जानकारी गराउन सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णकुमार गुप्ताले सम्पूर्ण व्यवसायीहरुका तर्फबाट अदालतमा मुद्दा दर्ता गराउने बताए । सडक आन्दोलन तथा कानुनी उपचारका लागि व्यवसायीहरुलाई एकजुट हुन आव्हान गर्दै अध्यक्ष गुप्ताले संघका महासचिव दिपक उप्रेतीलाई मुद्दा प्रक्रिया अघि बढाउनका लागि संयोजक तोकिएको जानकारी दिए ।
आन्दोलनको पहिलो दिन सोमबार उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न वस्तुगत संघका अध्यक्षहरु तथा विभिन्न राजनैतिक दल निकट उद्योगी व्यवसायीहरुसँग छलफल गरेको थियो । सो छलफलका क्रममा सबैले उद्योग वाणिज्य संघको अगुवाइमा सुरु भएको आन्दोलनका कार्यक्रममा ऐक्यवद्धता जनाएको अध्यक्ष गुप्ताले बताए ।
यसैगरी संघले सोमबार नै हेटौँडाका व्यवसायीहरुको भेलाबाट आन्दोलनको स्वरुपका बारेमा जानकारी गराएको छ । अध्यक्ष गुप्ताका अनुसार करको दर वृद्धिको विरोधमा थालिएको आन्दोलनमा हेटौँडाका होटल एसोसिएसन, निर्माण व्यवसायी संघ तथा सहकारीहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।
आन्दोलनका कार्यक्रमअन्तर्गत दोस्रो दिन मंगलबार कर अवज्ञाका लागि प्रचारप्रसार गर्नुका साथै विभिन्न संघसंस्था, प्रदेश सरकार तथा प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारमा ज्ञापनपत्र बुझाउने भएको छ । सोका लागि संघका उपाध्यक्ष तथा प्रवक्ता उज्वल चौलागाईँलाई संयोजक तोकिएको छ । यस्तै साउन ३० गते वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालको संयोजकत्वमा कर वृद्धिको विरोधमा हस्ताक्षर संकलन तथा उपमहानगरपालिकामा १ घन्टा धर्ना दिइने भएको छ ।
चौथो दिन साउन ३१ गते व्यवसायीहरुले २ घन्टा उपमहानगरमा धर्ना दिनुका साथै प्रतिकात्मक विरोधस्वरुप दिउँसो मैनबत्ती जुलुस गर्दै ‘हेटौंडा नगर सरकारको खोजी गर्ने भएका छन् । सो कार्यका लागि उपाध्यक्ष प्रमोद सिं रानाभाटलाई संयोजक तोकिएको छ । अन्तिम दिन साउन ३२ गते विरोध र्यालीसहित व्यापार व्यवसाय बन्द गरी उपमहानगरमा चाबी बुझाउँदै उपमहानगर परिसरमै कोणसभा गरिने अध्यक्ष गुप्ताले बताए ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विभिन्न व्यापार व्यवसायमा ५० देखि ३८० प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै व्यवसायीहरुले आन्दोलन थालेका हुन् । उनीहरुले घरबहाल कर व्यवसायीले तिर्ने वा घरधनीले भन्ने विषय स्पष्ट हुन नसकेको, विज्ञापन करका नाममा व्यवसायीहरुमाथि स्थानीय सरकारले अस्वाभाविक कर लादेको आरोप लगाउँदै आएका छन् । कोभिडपछि व्यापार व्यवसाय सबैतिरबाट धरासायी भएको अवस्थामा राहत घोषणा गर्नुको सट्टा एकपछि अर्को कर थपिएको व्यवसायीहरुको गुनासो छ ।
मकवानपुर
प्रतिक्रिया