शिव पुराण महायज्ञमा ६० लाखभन्दा बढी संकलन

बर्दिबास । सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि बर्दिबासमा जारी शिव पुराण महायज्ञमा दानबाट ६० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

महायज्ञका परिकल्पनाकार एवं भागवत मञ्जरी राधिका दासीको पुराण कथा श्रवण गर्न आएका भक्तजनले गरेको दान रकम उत्साहाजनकरुपमा वृद्धि भइरहेको बताइएको छ ।

पुराण सुरु भएको शुक्रबार चौथो दिनसम्म दान दातव्यबाट ६४ लाख रुपैयाँभन्दा बढी संकलन भएको शिव पुराण महायज्ञ मूल समितिले जनाएको छ । समितिका अनुसार यो रकम दान पेटिका बाहेकको दान दातव्यबाट संकलन भएको हो ।
यस अवधिमा सबैभन्दा बढी बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्री तथा धर्मपत्नी मञ्जु क्षेत्रीले आश्रममा २ कोठा निर्माणका लागि १५ लाख रुपैयाँ दान गरेका छन् । बर्दिबासकै समाजसेवी राजेश थापा र सुमित्रा भट्टराई दम्पतीले १ कोठा बराबरको ७ लाख ५१ हजार दान गरेका छन् ।

बर्दिबासमा निर्माणाधीन हाम्रो मायाको घरका अध्यक्ष कृष्णप्रसाद गौतमले ७ लाख ५० हजार, रामनारायण महतोले १ लाख २ हजार १०० र हरिबहादुर थापाले १ लाख ८ हजार रुपैयाँ दान गरेका छन् ।

सचिवालयको रेकर्डअनुसार महायज्ञमा सिन्धुलीदेखि बाराको सिमरा र भारतबाट आएका ा धर्मपरायणदेखि एकादशी समूहलगायत धार्मिक संघ संस्थाले पनि मन खोलेर दान गरेका छन् । महायज्ञ प्रारम्भ भएयता निरन्तरको वर्षाले मौसम प्रतिकूल भए पनि त्यसले भक्तजनको उत्साह र संख्यामा कुनै कमी देखिएको छैन ।

पुराण वाचिका राधिका दासीको प्रेरणाले ‘हाम्रो मायाको घर’ का लागि १५ जना दाताहरूले बर्दिबास वडा–२ मा करिब डेढ करोड मूल्य बराबरको साढे ५ कठ्ठा जग्गा दान दिएपछि यसको निर्माण प्रक्रिया सुरु भएको छ । सोही जग्गामा दुई तले भवनको डिपिआर पनि तयार छ ।

दुवै भवन निर्माणका लागि आवश्यक ११ करोड रुपैयाँको स्रोत जुटाउन पहिलो अभियानको थालनी महायज्ञबाट गरिएको समितिले जनाएको छ । साउन २९ गतेसम्म आयोजना हुने महायज्ञको दान दातव्यबाट डेढ करोड रुपैयाँसम्म जुट्ने महायज्ञ मूल समितिले विश्वास लिएको छ ।

प्रतिक्रिया